४ भदौ, काठमाण्डौं । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हराएपछि दुबै टोली एक खेल अगावै सेमिफाईनलमा पुगेका हुन ।
बङ्गलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गरे ।
यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । दुई खेल हारेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रीलङ्का पहिलो खेलमा नेपालसँग १-० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेता टोलीको निर्क्योल गर्नेछ ।
४ भाद्र २०८१, मंगलवार १९:१५ प्रकाशित