सहकारी घोटाला प्रकरण : शर्मा दम्पतीविरुद्ध २३ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा
  • काँचुली खबर

४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । शर्मा दम्पती बाँकेका स्थानीय हुन् ।

कोहलपुरमा होलसेल व्यापार र किराना स्टोर सञ्चालन गर्ने शर्मा दम्पतीले पछिल्लो १५ वर्षमा २३ अर्ब ४१ करोड २९ लाख गैरकानुनी रकम आर्जन गरेर सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धान निष्कर्ष छ ।

गीता शर्माले आफ्ना पतिले कोहलपुरमा बसेर ‘ढकाल किराना स्टोर’ सञ्चालन गरेको र धानको खरिद बिक्री गर्ने गरेको बयान दिएकी छन् । उनीहरुले २०६२ बाट काठमाडौँको शान्तिनगरमा किराना होलसेल पसल सुरु गरेका थिए । त्यसपछिका १५ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध भएर अकुत सम्पत्ति आर्जन गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार र गीता शर्माको हकमा ५२ करोड ३३ लाख ३२ हजार बिगो माग दाबी लिएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय भक्तपुरमा छ । शर्माकी पत्नी ४१ वर्षीया गीता शर्मा शिखर अर्गनाइजेशनकी निर्देशक र तुलसी सहकारीको अध्यक्ष हुन् । उनीहरुले सहकारीको निक्षेप आफ्ना ४९ वटा निजी कम्पनीमा लगानी गरेर अर्बौँ ठगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । ठगी मुद्दामा उनीहरू अहिले मुद्दा पुर्पक्षका लागि कारागारमा छन् ।

विभागले शिव शिखर सहकारीका म्यानेजर ३५ वर्षीय पुस्कर मल्ल, अध्यक्ष ३७ वर्षीय सुशिल बानियाँ, सचिव ४४ वर्षीय तेज बहादुर तामाङ, मोरङ घर भएका ब्यवस्थापक लिलानाथ गौतम, सविना न्यौपाने र सम्पत्ति जफत गर्ने प्रयोजनार्थ ऋण अधिकृत मुकुन्द कपालीलाई पनि सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी कायम गरेको छ ।

शर्मा दम्पतीले सर्वसाधारणको निक्षेप निजी स्वामित्वमा रहेका शिवशिखर एग्रो प्रालि, शिखरदिप फुड इण्डष्ट्रिज प्रा।लि, गोरखा टि एण्ड कफी इण्डष्ट्रिज, शिखर मेसिनरी एण्ड अटोमोबाईल्स प्रालि, नटराज एग्रो प्रालि, गार्डेन मार्ट प्रालि, तुलसी फुड इण्डष्ट्रिज प्रालि, उपकार गार्मेन्ट प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एण्ड मल्टी सोलुसन, तुलसी मोटर पम्प इन्डष्ट्रि, तुलसी कृषि अनुसन्धान प्रालि, गोर्खा वेभरेज, उपकार मिडिया ग्रुप, शिखर अग्रनाइजेशन, होटल पोप लाइफ प्रालि, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एण्ड ओयल इण्डष्ट्रिज र टेक्नो डोन प्रालिसहिका ४९ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । ती कम्पनीहरु केदारनाथ र गिताको नाममा संचालनमा थिए । विभागले २२ वटा कम्पनीहरूलाई पनि प्रतिवादी कायम गरेको छ ।

सहकारीलाई डुबाउने गरी आफैँले कर्जा लिए आफ्नै कम्पनीहरुमा लगानी गरेर राजस्व छलेर गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको भक्तपुर जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
– रातोपाटीबाट

  • ४ भाद्र २०८१, मंगलवार १८:५९ प्रकाशित
  • Nabintech