पर्यटक बोक्न ल्याइएका विद्युतीय बस ५ वर्षदेखि अलपत्र
  • काँचुली खबर

३ भदौ, बुटवल । एसियाली विकास बैंक ९एडीबी०ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् ।

२०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया नमिलेको भन्दै थन्क्याएर राखिएको छ ।

एडीबीले विद्युतीय गाडी, चार्जिङ गर्ने स्टेसन र सोलार इनर्जीसमेत उपलब्ध गराउने सम्झौता गरेअनुरूप २०७७ साल मङ्सिरमा गाडी ल्याए पनि विभिन्न कानुनी कारणले सञ्चालन गर्न नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

उनले भने, ‘यी गाडी चलाउन विभिन्न प्रक्रिया गर्दा ढिलो भयो । अब जसरी हुन्छ चलाउनुपर्छ । हामी त्यसका लागि प्रयासरत छौँ ।’

लुम्बिनी विकास कोषमा सूचना अधिकारी डा। हरिध्वज राईका अनुसार ती गाडी लुम्बिनी विकास कोषको नाममा ल्याउन झन्डै ३ वर्ष लागेको बताए ।

ती गाडी सेतो नम्बर प्लेटमा रहेकाले पर्यटक बोक्न अर्को समस्या भएको उनको भनाइ छ । हरियो नम्बर प्लेट लिनका लागि सङ्घ हुँदै प्रदेशको यातायात तथा सवारी व्यवस्था कार्यालयमा आएर प्रक्रिया रोकिएको उनले बताए ।

यातायात व्यवस्था कार्यालय बुटवलले प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनमा सरकारी नम्बर प्लेटका गाडी अर्को कुनै प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान नरहेको भन्दै रोकिएको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले आफूहरू भर्खर आएकाले त्यो विषयमा विस्तृत अध्ययन गरेर लुम्बिनीमा विद्युतीय बस चलाउन सहजीकरण गर्ने बताए ।

एडीबीले अनुदानमा उपलब्ध गराएका विद्युतीय गाडीहरू लुम्बिनी विकास कोषले भाडामा दिएर सञ्चालन गर्ने योजना बनाएको छ । सोही अनुसार विकास कोषले गाडीको सामान्य व्यवस्थापन खर्च उठ्ने गरी भाडामा दिने गरी छलफल अगाडि बढेको छ ।

सवारी साधन व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न नियमित आम्दानीको स्रोत अनिवार्य भएकाले भाडामा दिने सोचमा विकास कोष छ । एडीबीले लुम्बिनीमा प्रदूषण मुक्त सवारी साधनले पर्यटकलाई सेवा पुर्‍याओस् भनेर विकास कोषलाई विद्युतीय गाडी दिएको हो ।

पर्यटकको सेवाका लागि एडीबीले नेपाल सरकारलाई हस्तान्तरण गरेका साना भ्यानमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी, पदाधिकारीहरू चढ्ने गरेका छन् । बसहरू भने त्यतिकै थन्क्याएर राखिएका छन् ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको र लुम्बिनीमा पर्यटकहरूको चाप बढ्न थालेकाले ती विद्युतीय गाडी सञ्चालन अत्यावश्यक देखिएको सरोकारवाला बताउँछन् । तर दाताहरूले सहयोग गरे पनि लुम्बिनी विकास कोषले बस सञ्चालन गर्न नसकेको नाटा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार १९ सिटका बस र पाँच सिटका भ्यानमा कार्डबाट रकम भुक्तानी गर्ने सुविधा छ । गाडी वातानुकूलित र अपाङ्गतामैत्री छन् । ती बस एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने क्षमताका छन् । रातोपाटीबाट

  • ३ भाद्र २०८१, सोमबार १५:४७ प्रकाशित
  • Nabintech