२ भदौ, नेपालगन्ज । बाँके जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाइँ सम्पन्न भएको बताए । उनले बाँकेमा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ गरिएको जनाउँदै वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले धान खेती हुने अधिकांश जग्गामा रोपाइँ पुरा भएको बताए ।
अधिकृत श्रेष्ठले यस वर्ष ३४ हजार ८५० हेक्टर जग्गामा धान रोपाइँ हुने अनुमान गरिएकोमा अनुमान गरिएभन्दा बढी रोपाइँ भएको बताए ।
जिल्लाका अन्य क्षेत्रहरुमा केही समय अघिनै रोपाइँ सम्पन्न भए पनि सिचाइँ सुविधा कम भएको नरैनापुर गाउँपालिकामा अन्तिममा आएर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
जिल्लाका राप्तीसोनारी जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकामा भने रोपाइँ यसअघि नै पुरा भएको थियो ।
यस वर्ष बिउँ राख्ने र रोपाइँ गर्ने समयमा पानी नपरेकोले रोपाइँ पुरा नहुने आशंकामा स्थानीय किसान निकै चिन्तित बनेका थिए। जिल्लामा अधिकांश किसानले आकाशे पानीकै भरमा खेती गर्दै आएकोले वर्षा ढिला हुँदा रोपाइँमा पनि ढिलाई हुने गरेको किसानको भनाइ छ।
वर्षा ढिलै भए पनि यस वष जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
– गोरखापत्रबाट
२ भाद्र २०८१, आईतवार १७:०५ प्रकाशित