बाँकेमा बढ्दै अपराध, शुरक्षा ब्यवस्था कमजोर भएको गुनासो
  • काँचुली खबर

२ भदौ, कोहलपुर । पछिल्लो समय बाँकेमा अपराधिक गतिविधि बढ्दै गएका छन । जसका कारण जिल्लामा सुरक्षा चुनौती समेत थपिएको छ । केही दिनअघि जमुनाह नाकामा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सूचक कुटिएका थिए । त्यसको महिनादिन नपुग्दै शनिबार फेरि अर्को घटना घटेको छ ।

खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन् । राप्तिसोनारी-५ बिनौनामा शनिबार राती ८ बजे दुई समुहबीच झडप हुँदा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका हुन ।

बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्टमाथी खुकुरी प्रहार भएको हो ।

घाइतेमध्ये मल्लको बायाँ कोखामा र बिष्टको दुबै हातको कुममा गहिरो चोट छ । बिष्टभन्दा मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवैजनालाई उपचारका निम्ति भारतको लखनऊ लगिएको छ ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं एसपी तुलबहादुर कार्कीले बताए । एसपी कार्कीका अनुसार यी दुवै समूह विगतदेखि नै खोलामा बालुवा-गिट्टीको काम गर्ने समूह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वडाध्यक्षसहित ४ जना पक्राउ

अनुसन्धानका निम्ति चारजनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा युवा संघ बाँकेका अध्यक्ष तथा राप्तीसोनारी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेत रहेका छन् । उनीहरू चारैजना नेकपा (एमाले) निकट युवासंघमा आबद्ध रहेका प्रहरीले जनाएको छ ।

आक्रमणमा घाईते भएका युवाहरु भने नेपाली काँग्रेस निकट तरुण दलमा आबद्ध युवा हुन् ।

आपराधिक पृष्ठभूमिका युवाहरुबिच बाँकेमा बेलाबखत झडप हुने गरेको छ । शनिबारको घटना त्यसकै उपज हो । शुरक्षा संवेदनशिलताका हिसावले टार्गेटमा रहदै आएको बाँकेमा हुनसक्ने यस्ता घटना रोक्न प्रशासन चनाखो अवस्थामा बस्नुपर्ने हुन्छ । तर प्रशासनको कमजोरीको फाईदा उठाउँदै विभिन्न समुहले अपराधिक गतिविधि बढाउँदै लगेको भन्दै जिल्लावासीले गुनासो गर्दै आएका छन ।

  • २ भाद्र २०८१, आईतवार १६:१३ प्रकाशित
  • Nabintech