पहिरोले छिन्चु-जाजरकोट सडकखण्ड अवरुद्ध
  • काँचुली खबर

२ भदौ, सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका-१३ कुदुबाट वडा नं. ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका-११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु-जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका-१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँ-ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताए ।

केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु-जाजरकोट सडक अवरुद्ध प्रहरी पमुख पाण्डेले जानकारी दिए ।

सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ ।

पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।

  • २ भाद्र २०८१, आईतवार ११:२७ प्रकाशित
  • Nabintech