१ भदौ, नेपालगन्ज । नेपालगन्ज रंगशालामा रु. १० करोड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको छ ।
ललितपुरको पंचकन्यारसाईकट्स निर्माण कम्पनीले रु. ९ करोड ८६ लाख लागतमा निर्माण गरेको ट्रयाक हस्तान्तरण गर्नु भन्दा पहिले नै उप्किएको छ ।
उक्त ट्रयाक निर्माणको काम सम्पन्न भइसके पनि हस्तान्तरण भएको छैन । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किएको हो।
त्यस सम्बन्धमा आवश्यक छानिबन गर्न राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख महेश चन्दले बताए ।
शुरु देखि नै ट्राक निर्माण कार्यमा गुणस्तर नभएको भन्दै प्रश्न उठेको थियो । प्रश्न उठ्दा कसैले पनि काम रोक्न तत्परता देखाएका थिएनन् । गुणस्तर नियन्त्रण बिनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माण कार्य रोक्ने चेतावनी दिएका थिए ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले शुरुकै दिनमा खेलपूर्वाधारमा भइरहेको लापरबाहीलाई नजरअन्दाज गर्न नसकिने भन्दै गुणस्तरका विषयमा आवाज उठाएका थिए ।
आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला निर्माणमा अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालिन खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)को पहलमा बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्यमा कम्पनी लापरबाही गरेको भन्दै त्यसको गुणस्तरमा आशंका गरिएको छ ।
आठौंमा नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुण्डी लगिएको भन्दै आलोचना भएको थियो । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुण्डीमा भएका थिए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो ।
तर, तीनको उपयोग हुन नसकेको भन्दै चिन्ता गरिएको छ । ठूलो मिहिनेतका साथ बनेको सेन्थेटिक ट्रयाक प्रोजेक्ट हस्तान्तरण नहुँदै उप्किएकाले राखेपका बिज्ञले छानबिन गरेर ठेकेदार कम्पनीलाई सुधार गर्न दिनुको बिकल्प नहुने प्रमुख चन्द बताउँछन् ।
१ भाद्र २०८१, शनिबार १३:३१ प्रकाशित