१ भदाै, नेपालगन्ज । आफू अपहरणमा परेको भनेर नेपालगन्जमा अफवाह फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आफू अपहरणमा परेको भनी अफवाह फैलाउने नेपालगन्ज-११ निवासी २६ वर्षका भरत तिवारीलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार साउन ३० गते रातको करिब २०-३० बजेको समयमा नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ११ का भरत तिवारी अपहरणमा परेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजले प्रयोग गर्ने मोटरसाइकल नेपालगन्ज उप-महानगरपालिका २ न्यूरोडमा फेला परेको थियो भने तिवारीलाई डुडुवा गाउँपालिका ५ मा फेला पारेर नियन्त्रणमा लिइएको हो।
उनले अनुसन्धान गर्ने क्रममा निज तिवारीले आफ्नो मोबाइलमा ३ वटा फेक ह्वाट्सएप आइडी खोली आफ्नो साथीहरुलाई आफू अपहरण परेको कुरा सोही ह्वाट्सएप मार्फत जानकारी गराउने गरेको पाइएको हुँदा तिवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।
१ भाद्र २०८१, शनिबार ०९:४१ प्रकाशित