३२ साउन, काठमाडौँ । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।
यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।
हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।
सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले भनिन् ।
सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
३२ श्रावण २०८१, शुक्रबार १४:५१ प्रकाशित