चर्चामा १० करोडमा बनेको नेपाली-हिन्दी मिश्रित गीत ‘झ्याइँ’
  • काँचुली खबर

काठमाडौं । न्युयोर्कको टाइम्स स्क्वायर ठूला एलईडी स्क्रिन र चम्किलो ‘नाइट लाइफ’ले विश्वव्यापी चर्चित छ । संसारका ठूला ब्राण्ड यो थलोमा राखिएका भव्य स्क्रिनमा विज्ञापन देखाउने होडमा हुन्छन् ।

सेकेण्डको हिसाबले विज्ञापन गर्न पनि मिलियन डलर खर्च लाग्छ । यो ‘कस्मोपोलिटन’ थलोमा गत शनिबार नेपाली र हिन्दी मिश्रित गीतको म्युजिक भिडियो ‘झ्याइँ’को प्रिमियर गरियो ।

टाइम्स स्क्वायरका दुई ठूला स्क्रिन नास्दग र मिडटाउनमा नेपाली राष्ट्रिय झण्डाको स्क्रिनिङसहित चार मिनेट लामो गीत देखाइयो । यसका लागि निर्माताले महंगै मूल्य तिरे । दुबईको बुर्ज खलिफामा देखाउने पूर्वयोजना स्थगित गर्दै निर्माताले टाइम्स स्क्वायरमा गीत प्रिमियर गरेका हुन् ।

अमेरिकी निर्माता कम्पनी एटमुनले नेपाली र बलिउड कलाकारको सहकार्यमा बनाएको उक्त म्युजिक भिडियोको लागत १० करोड रुपैयाँ बताइएको छ । यो गीतसँग बलिउडका ठूला नाम जोडिएका छन् । उनीहरुकै संलग्नतामा मुम्बईको एम्पिरियल प्यालेसमा यो गीतको छायांकन गरिएको थियो ।

गीतमा अमेरिकामै जन्मे-हुर्केकी मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन् । गीतमा मन्ज्याश्री आफैं फिचर्ड छिन् । यो गीतमा चर्चित नेपाली लोकगीत ’झ्याइँ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो’ बोलको गीतको अंश समावेश छ । हिन्दी र नेपाली गीत मिश्रण गरिएकाले गीत नृत्यप्रधान महसुस हुन्छ । स्पोटीफाइ, एप्पल, हंगामा, गाना प्लाटफर्म लगायतमा यो गीत उपलब्ध छ ।

यो भिडियोको आइडिया अनुशा भट्टको हो । उनी यो गीतकी कार्यकारी निर्मात्री समेत हुन् । उनले एटमुन कम्पनीको आगामी योजनाअन्तर्गत अर्को महत्वाकांक्षी प्रोजेक्टको रुपमा नेपालको सम्पदा झल्काउने म्युजिक भिडियो र अर्को वर्ष एक कथानक फिल्म निर्माणको योजना सुनाइन् । बनाउने भनिएको उक्त कथानक फिल्ममा मञ्जयाश्रीकै अभिनय हुने जनाइएको छ ।

  • ३१ श्रावण २०८१, बिहीबार १७:०७ प्रकाशित
  • Nabintech