बाँकेमा डेंगुको जोखिम बढ्दै, ९४ जनामा पुष्टि
  • काँचुली खबर

३१ साउन, नेपालगन्ज । बाँकेमा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो ।

आर्थिक वर्ष २०८०-८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले सबैभन्दा बढी रोगी कोहलपुर नगरपालिकामा भेटिएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरा गाउँपालिकामा ३६, नेपालगन्ज उपमहानगरमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।

यसबर्ष चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमित फेला परिसकेको जनाउँदै हिमाल, पहाड र तराईका जिल्लामा निरन्तर डेंगु सङ्क्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत सात महिनाको अवधिमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा १७ जना डेंगुका बिरामीले उपचार गराएको तथ्याङ्क पनि स्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।

सो कार्यालयका अनुसार असोजदेखि मङ्सिरसम्म जिल्लामा डेंगु सङ्क्रमित बढी फेला पर्ने गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन गौतमले डेंगु फैलाउने मच्छरका लागि उपयुक्त वातावरण भदौदेखि मङ्सिरसम्म हुने गरेको बताए । उनले विगतको तथ्याङ्क हेर्दा डेंगु फैलने जोखिम असोजदेखि सुरु भएर मङ्सिरसम्म हुने गरे पनि यस वर्ष सोभन्दा पहिले डेंगुका धेरै बिरामी फेला परिसकेको बताए ।

उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीमा असह्य पीडा हुनु, आँखाको गेडी दुख्नु, अत्यधिक टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु, डेंगुका लक्षण भएको चिकित्सकको भनाइ छ ।

नेपालगन्जस्थित भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले लामखुट्टेबाट बच्न शरीर ढाक्ने लुगा लगाउने, घर कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालाई छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए ।
गोरखापत्रबाट

  • ३१ श्रावण २०८१, बिहीबार १६:४४ प्रकाशित
  • Nabintech