काेहलपुरकाे कृष्ण माविमा १८ लाखको अक्षयकोष स्थापना
  • काँचुली खबर

२९ साउन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको अक्षयकोष स्थापना भएको छ ।
स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले छात्रवृतिकालागी १८ लाखको “भिम-कमला  अक्षयकोष-२०८१” स्थापना गरेकी हुन ।

विशेषगरी कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार, द्धन्द पिडित र दैलेखबाट कृष्ण मापिमा अध्ययन गर्न आउने विद्यार्थीमध्येबाट जेहेन्दार छनौट गरी प्रतिवर्ष पुरस्कृत गर्ने र विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको बताईएकाे छ ।

विद्यालय र मल्लबिच भिम-कमला छात्रवृति अक्षय कोष परिचालन निर्देशिका २०८१ बनाउने र अक्षय कोष सञ्चालन सम्बन्धी ९ बुँदामा सम्झौता समेत भएको छ ।

सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न वा अन्य कुनै कोष वा शिर्षकमा समायोजन गर्न नपाइने समेत उल्लेख गरेको छ ।

अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले अक्षयकोषले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउने मात्र होइन, उनीहरूको भविष्य उज्यालो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले भिम-कमला अक्षयकोषको स्थापनाले नगरको शिक्षा क्षेत्रलाई ठुलो सहयोग पुर्याउने उल्लेख गरे ।

‘नगरपालिकामा यस्तो उत्कृष्ट प्रयासले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने, ‘नगरका अन्य स्थानहरूमा पनि यस्ता कोषहरू स्थापना गर्न प्रोत्साहन गरिनु आवश्यक छ ।’

अक्षयकोषदाता कमला देवी मल्लले स्व. श्रीमान भिम बहादुर मल्ल ठकुरीको शिक्षा र समाजप्रति लगाव बारे चर्चा गरेकी थिइन् । आफ्नाे श्रीमानले शिक्षा क्षेत्रमा निकै चासो र गहिरो रुची राख्ने गरेकाे स्मरण गर्दै मल्लले श्रीमानकै ईच्छा पूरा गर्न आफुले अक्षयकाेष स्थापनाकालागी सहयाेग गरेकाे बताईन ।

“याे उहाँको सपना पूरा गर्ने एक सानो प्रयास हो, मैले उहाँको सम्झनामा यस अक्षयकोषको स्थापना गर्न पाउँदा गर्व अनुभव गरेको छु” उनले भनिन्, “आशा छ यसले यहाँका विद्यार्थीहरूकाे शिक्षा यात्रामा सहयोग पुर्याउनेछ ।”

कार्यक्रमका सभाअध्यक्ष अमर चन्दले अक्षयकोष स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै यस प्रकारका कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

  • २९ श्रावण २०८१, मंगलवार २०:१४ प्रकाशित
  • Nabintech