प्रचण्डले कसरी मत्थर पार्लान् नेतृत्व हस्तान्तरणको बहस ?
  • डाकमान राई

साढे तीन दशकदेखि माओवादीमा एकछत्र राज गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डमाथि नेतृत्व छाड्न चर्को दबाब परेको छ। विगतदेखि नै प्रचण्डमाथि विभिन्न प्रश्न उठ्दै आएकोमा यो आवाज अहिले बढेर नेतृत्व हस्तान्तरणसम्म पुगेको हो।

सत्ताबाट बाहरिएसँगै पार्टी जागरण, रूपान्तरण तथा सुदृढीकरणमा केन्द्रित भएको माओवादीमा उमेरले ७० पुगिसकेका प्रचण्डमाथि दोस्रो पुस्ताले नेतृत्व छाड्न दबाब बढाएका हुन्।

साउन २५ गतेदेखि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डविरुद्ध अर्को ‘फायर’ खोले। विगत (खासगरी देव गुरुङलाई महासचिव बनाएर उपमहासचिवमा सीमित पारेपछि) देखि नै नेतृत्वको कार्यशैलीमाथि असहमति राख्दै आएका उनले अहिले नेतृत्व हस्तान्तरणको अडान अघि सारेका हुन्।

स्थायी समितिमा शर्माले पेस गरेका लिखित प्रस्तावमा पार्टीलाई नयाँ परिस्थितिअनुसार रूपान्तरण गर्न नयाँ पुस्तालाई नै जिम्मेवारी सुम्पनुपर्ने माग गरेका छन्। त्यसका लागि उनले तीन विकल्पसमेत दिएका छन्।

पहिलो : सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित वैचारिक तथा सांगठनिक काम गर्न प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण गर्ने, दोस्रो : प्रचण्ड संरक्षकको भूमिकामा रही वैचारिक पदाधिकार र सत्ताको नेतृत्व गर्ने र हालका पदाधिकारीहरू सल्लाहकारको भूमिका रही विभागीय, अनुगमन, मूल्यांकन तथा प्रशिक्षण गर्ने र तेस्रो पुस्तालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने वा तेस्रो : हालको केन्द्रीय कमिटी भंग गरेर प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नेगरी मिति तोक्ने।

उपमहासचिव शर्माले सीमान्तकृत वर्गसँग पार्टी संगठन अलग भएको, नेतासँग पद र सुविधा भए पनि कार्यकर्तामा अभाव र पीडा मात्रै रहेको, पार्टीमा परिवारवाद हाबी भएको, राज्यसत्ताको दुरुपयोग गरिएको र फरक मतको सम्मान नभएको जस्ता समस्या औँल्याएका छन्। उनले समस्या समाधानका लागि नेतृत्व हस्तान्तरणसहित अन्य उपायहरू पनि सुझाएका छन्।

पार्टी विभाजनको अनावश्यक हल्लालाई प्रचण्डनिवास खुमलटारबाटै तीव्रता दिइएको आरोप शर्माको छ। नेतृत्वले नै ‘पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ ?’ भन्दै कार्यक्रममा हुटिङ गराएर पार्टीपंक्तिमा फुटको त्रास फैलिएको बताएका छन्।

बैठकमा अर्का प्रभावशाली उपमहासचिव वर्षमान पुनले पनि नेतृत्वको कार्यकालबारे बहस हुनुपर्ने बताए। तत्काल अध्यक्ष छाड्नुपर्ने भन्दा पनि अध्यक्षको कार्यकाल निर्धारण गर्नुपर्ने उनको मत थियो। ‘अहिले नै नेतृत्व छाड्नुपर्नेभन्दा पनि अध्यक्षको कार्यकाल कति हो भन्ने निर्धारण हुनुपर्छ’, बैठकमा उनले भने।

उपमहासचिव पुनका पत्नीसमेत रहेका स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पहिलोपटक अध्यक्ष प्रचण्डप्रति शंका बढेको बताइन्। जनार्दनले उठाएका सवालहरूमा टेकेर पूर्व-सभामुखसमेत रहेकी घर्तीले बैठकमा भनिन्, ‘राज्यसत्ता हामीतिर नै लगाउन खोजियो। पार्टीमा आशंका र अविश्वास यति बढ्यो कि ३५ वर्षको यात्रामा अध्यक्ष प्रचण्डप्रति पहिलोपटक शंका लाग्यो।’

उनले विधि र पद्धतिको कुरा गर्नेलाई पार्टी विभाजनको आरोप लगाउने नेतृत्वको कार्यशैली आपत्तिजनक भएको बताइन्। माओवादी सकिन्छ भन्ने आशंका चिर्न अब नेतृत्व चयनको विधि स्थापित गर्नुपर्नेमा उनको जोड छ।

बैठकमा उपमहासचिव शक्ति बस्नेतले पनि प्रतिस्पर्धाबाट नेतृत्व चयनको विधि स्थापित गर्नुपर्ने बताएका छन्। दाहाल निकटकै उपमहासचिव हरिबोल गजुरेलले अध्यक्षसहितका पदाधिकारीकै कारण पार्टी नाजुक अवस्थामा पुगेको भन्दै सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव गरिसकेका छन्। १४ साउनको पदाधिकारी बैठकमा उनले पार्टीमा पदाधिकारीहरूबाट गम्भीर गल्ती भएको भन्दै विधिको सुरुवात माथिबाटै हुनुपर्ने तर्क मात्र गरेनन्, त्यसको सुरुवात आफैँबाट गर्नुपर्ने भन्दै राजीनामा समेत दिएका छन्।

प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका गजुरेलले यसअघि पनि पार्टीमा विधि र प्रक्रियाअनुसार काम नभएको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।

पार्टी सचिव राम कार्कीले पनि अहिलेको नेतृत्व र संगठनबाट समाजवादी क्रान्तिमा जान नसकिने बताएका छन्। बैठकमा धारणा राख्दै उनले नेतृत्वका लागि नयाँ पुस्ता पनि तयार हुनुपर्ने बताएका छन्। सचिव कार्की पहिल्यैदेखि पार्टीमा विधि र पद्धतिको वकालत गर्नेमध्येका एक हुन्।

बैठकमा नेतृत्व बदलिनुपर्ने बलियो मत प्रस्तुत भए पनि महासचिव देव गुरुङ, उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटा, सचिव दिननाथ शर्मालगायतका नेताहरू भने अहिल्यै प्रचण्डको नेतृत्व खोज्न नहुने पक्षमा छन्।

प्रचण्डले भने अहिलेसम्म पार्टीमा आफ्नो उत्तराधिकारी नै तयार भइनसकेको तर्क गर्ने गरेका छन्। केही दिनअघि मात्रै उनले आफू नेतृत्वमा छाड्न तयार रहे पनि विकल्प नभएको सुनाएका थिए।

‘मैले छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन’, साउन २३ गते पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने, ‘छिटोभन्दा छिटो राम्रो उत्तराधिकारीको टिम बनाउनेतिर छु। म चाहिँ अलि अर्को भूमिकामा जान पाए खुसी हुनेमा छु। मैलै लिएर बस्न खोजेको छ भन्ने बुझ्नुभयो भने ममाथि अन्याय हुन्छ, तर अहिले बेला अलि भएको छैन। त्यो बेला ल्याउनुपर्छ।’

राजनीतिक विश्लेषकहरू भने वर्तमान नेतृत्वले नै आफ्नो उत्तराधिकारी तयार पार्नुपर्ने बताउँछन्। त्यसमा प्रचण्ड चुकेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। त्यति हुँदाहुँदै पनि माओवादीमा प्रचण्डको उत्तराधिकारी छैनन् भन्न नमिल्ने उनको भनाइ छ।

‘पहिलो कुरा त नेतृत्व आफैँले आफ्नो उत्तराधिकारी तयार पार्ने हो। अर्को चाहिँ यति हुँदाहुँदै पनि माओवादीमा एकसय एक नेताहरू छन्, बौद्धिक मान्छेहरू छन्’, उनी भन्छन्, ‘तर प्रचण्डले यसरी छँदै छैनन् भनेर दाबी गर्नुको कारण चाहिँ उनीहरूलाई निरुत्साहित गर्ने एउटा, अर्को आफ्नो औचित्य जबर्जस्ती सावित गर्नका लागि हो भन्ने देखिन्छ।’

अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल पनि वास्तवमा प्रचण्ड स्वयंले नै पार्टीमा आफ्नो उत्तराधिकारी तयार पार्न नचाहेको बताउँछन्। त्यसका बाबजुत तयार भएका उत्तराधिकारीलाई पनि पार्टीबाटै लखेट्ने गरेको विश्लेषक खनालको बुझाइ छ।

‘उत्तराधिकारी त प्रचण्डले पार्टीबाट लखेटिहाल्छन् र आफ्ना अनुयायीलाई मात्र राख्ने उनको चरित्र हो। प्रचण्डभन्दा क्यापेबल मान्छे हिजो कति थिए-थिए। तर सबै किन बाहिरिए भन्दा प्रचण्ड छाड्ने खालका मान्छे नै होइनन् भन्ने सबैले बुझे।’

२०६४ को पहिलो संविधानसभा चुनावदेखि गत आमनिर्वाचनसम्मको मतपरिणाम हेर्ने हो भने माओवादी क्रमशः स्खलित छ। नेतृत्वमा अझै कब्जा जमाउने हो भने प्रचण्डलाई मात्र नभई सिंगो माओवादीलाई ठूलो क्षति पुग्न सक्ने विश्लेषक श्रेष्ठ औँल्याउँछन्।

पार्टीमा नेतृत्वप्रतिको आवाज बढ्दै गएकाले भालि विष्फोटको अवस्थामा पुगे प्रचण्डले बाध्यताले छोड्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन्। ‘अब मान्छेले कति दृढ भएर आवाज उठाउँछन् भन्ने मुख्य कुरा हो। तर जे भए पनि यो आवाज घट्ने होइन, बढ्ने क्रममै देखिन्छ। अगाडि नै नेतृत्व हस्तान्तरण भएन भने त्यस्तो एउटा विन्दु आउन सक्छ, जहाँ प्रचण्डले बाध्य भएर छोड्नुपर्ने हुन्छ।’

२०४१ मा नेकपा मशालको केन्द्रीय सदस्य बनेका प्रचण्ड ०४६ मा महामन्त्री बनेका थिए। ०४८ मा एकता केन्द्रको महामन्त्री हुँदै उनी ०५१ मा तत्कालीन नेकपा एकता केन्द्रको राष्ट्रिय सम्मेलनपछि माओवादीको महामन्त्री बने।

०५२ देखि सुरु भएको जनयुद्धको नेतृत्व गरेका प्रचण्ड ०५७ मा अध्यक्ष बने। त्यसपछि ०६९ सालमा हेटौंडामा भएको राष्ट्रिय सम्मेलन, ०७० को विराटनगरमा भएको एकताको महाधिवेशन र ०७८ भएको महाधिवेशनबाट पनि अध्यक्ष बनेर पार्टीमा राज गरिरहेका छन्।

  • २८ श्रावण २०८१, सोमबार १८:२० प्रकाशित
  • Nabintech