एसइइको मौका परीक्षामा चिट चोराउने दुई पक्राउ
  • काँचुली खबर

२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु रहेका छन् ।

शुक्रवार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्ने कार्की र थारुलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रधान अध्यापक जितेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार चिट चोराउन खोज्नेलाई नियन्त्रणमा लिइसकेको र उनीहरुलाई परीक्षा केन्द्रका प्रमुखले कारबाहीका लागि निवेदन दिएपछि कारबाही हुने बताए ।

  • २५ श्रावण २०८१, शुक्रबार १५:४३ प्रकाशित
  • Nabintech