२४ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएका छन । एक वर्षको अवधिमा ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो क्रममा २६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
डिएसपी डाँगीले भने, ‘लागु औषध नियन्त्रणका लागि सीमापारी भारतीय सुरक्षा निकायसँग समन्वयदेखि गाउँ-गाउँमा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएका छौं ।’
नेपालगञ्ज पछिल्ला केही वर्षदेखि लागु औषध ब्राउनसुगरको हबको रुपमा देखिएको सुरक्षा निकाय र लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले दाबी गर्दैआएका छन् । सीमापारी भारतीय बजार रुपैडियाबाट ब्राउनसुगर र अन्य लागुपदार्थ भित्र्याउने र बाँकेको विभिन्न सहरी र ग्रामीण इलाका तथा अन्य जिल्लामा पठाउने गरिएको छ ।
लागु औषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान नै चलाइरहेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा युवापुस्ता लागु औषधको उच्च जोखिममा छन् ।
प्रहरीले लागु औषध नियन्त्रणका लागि सुरक्षा परिचालनसँगै जनचेतनामूलक कार्यक्रममा केन्द्रित गरे पनि लागु औषध प्रहरीका लागि सधै टाउको दुःखाइको विषय बन्दैआएको छ ।
२४ श्रावण २०८१, बिहीबार १६:२५ प्रकाशित