बाँकेबाट एसइई पूरक परीक्षामा पाँच हजार बढी विद्यार्थी सहभागी
  • काँचुली खबर

२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।

एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताए ।

उनले गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको बताए । प्रमुख यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ ।

उनले नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा, राप्ती सोनारी गाउँपालिकामा दुई र खजुरा तथा बैजनाथ गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र तोकिएको बताए ।

नेपालगन्जमा सरस्वती मावि, महेन्द्र मावि, मङ्गलप्रसाद मावि र धम्बोझी मावि, कोहलपुरमा राम मावि, त्रिभुवन मावि, ज्ञान ज्योति र लक्ष्मी मावि, राप्ती सोनारीमा लक्ष्मी मावि र सिद्धेश्वर मावि, खजुरामा ज्ञानोदय मावि र बैजनाथमा प्रभात माविमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।

बाँकेबाट ग्रेड वृद्धिको परिक्षामा सहभागी हुनेहरुमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख यादवका अनुसार गणित विषयमा तीन हजार ७३३, विज्ञानमा दुई हजार ७६८, सामाजिकमा दुई हजार ६२९, अङ्ग्रेजीमा एक हजार ९२३, अर्थशास्त्रमा एक हजार ८५२, नेपालीमा एक हजार ४०८ र ऐच्छिक गणितमा ७७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

  • २३ श्रावण २०८१, बुधबार १८:२९ प्रकाशित
  • Nabintech