“बा” को कथा समेटिएको ‘मोहोर’ विमोचन
  • काँचुली खबर

२० साउन, कोहलपुर । साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले शनिबार कोहलपुरमा आयोजना गरेको एक कार्यक्रममा “मोहोर” विमोचन गरीएको हो ।

प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नी यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रूपमा ‘मोहोर’ को विमोचन गरेका थिए ।

सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा. जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसकेका आफ्ना बाको जीवन र कर्मका अनेकौँ चित्र उतारिएको बताए । उनले सामाजिक सङ्घर्ष, पारिवारिक सङ्घर्षका क्रममा एउटा आम मान्छेको भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता-मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो कथा गैरे परिवारका लागि मात्र नभई आमपाठकका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

यसैगरी समालोचक तथा उपप्राध्यापक हरि प्रसाद तिमिल्सेनाले मोहोरले मानिस किन एक ठाउँमा अर्को ठाउँमा बसाइँ सर्छ ? उसको चरित्र किन अस्थिर हुन्छ र आफ्ना थातथला, नातागोता, कुटुम्ब किन छोड्न तयार हुन्छ भन्ने दार्शनिक पाटोलाई चिरफार गरेको बताए ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्रतिष्ठानका कानुनी सल्लाहकार सन्तोषी विष्ट लगायतले उपन्यासबारे आफ्नो धारणा राखेका थिए ।

उपन्यासका लेखक गैरेले यसअघि २०७७ सालमा कोरोनाको अवस्था झल्काउने निबन्ध सङ्ग्रह ‘लकडाउन’ र २०७८ सालमा ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा प्रकाशित गरिसकेका छन । उपन्यास ‘मोहोर’ उनको तेस्रो कृति हो ।

  • २० श्रावण २०८१, आईतवार १४:३४ प्रकाशित
  • Nabintech