गौ सेवा धाममा पुर्‍याईयो कोहलपुरका पशु चौपाया
  • काँचुली खबर

१९ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरी आज राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्‍याएको छ ।

कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना बढेको, नगर क्षेत्रमा रोपिएका बोटबिरुवा र किसानलाई समेत सास्ती दिएको पाइएपछि कोहलपुर नगर प्रहरी, इलका प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गौ सेवा धाममा पुर्‍याइएको नगर प्रहरी प्रमुख बिरबहादुर थापाले बताए ।

नगर क्षेत्रमा रहेका छाडा पशुचौपाया कोहलपुर नगरपालिका-१२ चपरगौडीमा रहेको जनज्ञानज्योती बिधालयको खेल मैदानमा जम्मा गरी पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पुर्‍याइएको थापाले बताए । उनका अनुसार छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि गौ सेवा धामसँग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले छाडा पशुचौपायाका कारण कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको बताए ।

“कोहलपुर नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना भैरहेका छन् । त्योबाट मानवीय क्षती त भएकै छ । पशुचौपाया पनि मरिरहेका छन् । अर्कोतर्फ किसानको बालिनालीमा पनि नोक्सानी भैरहेको गुनासो आइरहेको छ । नगरपालिकाको हरित नगर अभियानमा पनि छाडा पशु चौपाया बाधक भैरहेका छन् । यसको व्यवस्थापनका लागि गौ सेवा धामसँग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो । यसले एकातिर कोहलपुरमा छाडा पशुचौपायाको समस्या पनि केहिहद सम्म समाधान हुने र अर्कोतर्फ पशुचौपायाको संरक्षण र व्यवस्थापन पनि हाम्रो विश्वास छ” नगर प्रमुख आचार्यले भने ।

कोहलपुर नगर क्षेत्रका छाडा पशुचौपाया संकलन तथा व्यवस्थापनका लागि कोहलपुर नगरपालिका-१२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको नेतृत्वमा वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, जनप्रतिनिधि, स्थानीयबासी लगायतको समेत सहभागिता रहेको थियो ।

  • १९ श्रावण २०८१, शनिबार १८:०१ प्रकाशित
  • Nabintech