१७ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी ‘ए’ र क्याटेगोरीका ‘बी’ का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।
आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलोपटक नेपालमा खेल्न आएको हो ।
नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा हुनेछ । सिंगल राउण्ड रोविन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।
१७ श्रावण २०८१, बिहीबार १२:४६ प्रकाशित