१४ साउन, काेहलपुर । देशकै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा संरक्षित पाटे बाघकाे सँख्या २५ वटा पुगेकाे छ । विश्व बाघ दिवसकाे अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरीएकाे हाे ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१० मा ४ वटा पाटे बाघ भएकोमा अहिले २५ वटा पुर्याउन सफल भएको र आगामी दिनमा बाघको सङ्ख्या अझै वृद्धि हुने क्रम जारी रहेको बताए । उनले बाघको सङ्ख्या वृद्धि भएसँगै थप चुनौती थपिएको र बाघको सङ्ख्यासँगै मानवीय क्षति पनि धेरै भइरहेको हुँदा संरक्षणमा अझ बढी चुनौती थपिएको बताए ।
कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले जङ्गल, जल र जमिनको स्वस्थ पारिस्थितिय प्रणाली तथा समृद्धिका लागि बाघ र अन्य वन्यजन्तुको संरक्षण अति नै महत्त्वपूर्ण रहेको बताईन ।
निकुञ्ज बिस्तारसँगै बाघको सङ्ख्यामा समेत वृद्धि हुँदै जाँदा बाघ र अन्य वन्यजन्तुको कारण मध्यवर्ती क्षेत्रका स्थानीयलाई पुग्ने क्षति तर्फ समेत ध्यान दिनुपर्ने बताउँदै सुवेदीले वन्यजन्तुका लागि उचित र सुरक्षित बासस्थानको प्रावधान मिलाई मानव र वन्यजन्तु बिचको सह अस्तित्व जोगाउनु पर्नेमा जाेड दिईन ।
उहाँले बाघले हुने नोक्सानी भन्दा पनि बाघ संरक्षण गर्दा हुने फाइदा र लाभको बारेमा सचेतना फैलाउनुका साथै वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउन संरक्षणकर्मीहरूले ठोस योजना ल्याउनुपर्ने बताईन ।
कार्यक्रममा तराई भू-परिधि कार्यक्रमका कार्यक्रम प्रबन्धक लक्ष्मण प्रसाद पौडेलले बाघ दिवस मनाउनुपर्ने कारण र बाघकाे संरक्षण किन आवश्यक छ भन्नेबारे प्रष्ट पारेका थिए ।
कार्यक्रमकाे अवसरमा बाँके राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय कोहलपुर परिसरमा वृक्षारोपण गरीएकाे थियाे । त्यसअघि दिवसकाे अवसरमा काेहलपुरमा र्यालि निकालीएकाे थियाे ।
विभिन्न समुदायको सांस्कृतिक परम्परा झल्कने झाँकी नृत्य सहित कोहलपुर क्षेत्र आसपासका विद्यालयका शिक्षक-विद्यार्थी, सामुदायिक वनका सदस्य र विभिन्न सरोकारवाला निकायका व्यक्तिहरू बाघ संरक्षण सम्बन्धि नारा लेखिएका प्ले कार्डहरू सहित र्यालिमा सहभागी भएका थिए ।
पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
१४ श्रावण २०८१, सोमबार १४:१६ प्रकाशित