१३ साउन, काठमाडौं । हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो । भारतले सुरुका ६ संस्करणको उपाधि जितेको थियो । तीमध्ये चार संस्करणको फाइनलमा श्रीलंकालाई पराजित गरेको हो। दुईपल्ट भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
तर, सन् २०१८ मा भारत फाइनलमा बंगलादेशसँग तीन विकेटले पराजित भयो । पछिल्लो संस्करण भारतले फाइनलमा श्रीलंकालाई आठ विकेटले पराजित गर्दै सातौंपल्ट उपाधि जितेको थियो । यसपल्ट भने श्रीलंका त्यो फराकिलो हारको बदला लिन सफल भयो ।
भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छदै दुई विकेट गुमाएर १६७ रन बनायो । श्रीलंकाकी हर्षिता समरविक्रमले अविजित रहँदै ६९ रन बनाइन् । ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का प्रहार गरिन् ।
ओपनर तथा कप्तान चमारीले ४३ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । विष्मी गुणरत्ने एक रनमा आउट हुँदा कविशा दिल्हारी ३० रनमा अविजित रहिन् ।
भारतकी दिप्ती शर्माले एक विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले ३० रन खर्चिइन् ।
त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको भारतले स्मृति मान्धनाको अर्धशतकीय इनिङ्ससँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन बनाइन् । ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा आउट हुँदा पूजा वस्त्रकार पाँच र राधा यादव एक रनमा अविजित रहिन् ।
श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक दुई विकेट लिइन् । सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले समान एक विकेट लिइन् ।
१३ श्रावण २०८१, आईतवार १९:१३ प्रकाशित