वार्षिक उत्सवको अवसरमा सिने रोयलद्धारा मोबाइल एप सार्वजनिक
  • काँचुली खबर

११ साउन, नेपालगन्ज । नेपालगन्जमा रहेको सिने रोयलले पहिलो वार्षिकोत्सव मनाएको छ । नेपाली सिने क्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको सिने रोयल नेपालकै लागि उच्चस्तरीय सिनेमाघर रहेको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाइ रहेको थियो ।

सिने रोयलले वार्षिक उत्सवको अवसरमा आफ्नो मोबाइल एपसमेत सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस् भन्ने उद्देश्यले एप निर्माण गरिएको सिने रोयलले जनाएको छ ।

उक्त एपमा खाद्य परिकारसहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढेको सिने रोयलका सिओओ रितेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एपमार्फत अबको एक सातासम्म सिने रोयलमा कुनै पनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्रमार्फत् यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौकासमेत रहेको छ ।

अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए ।

कार्यक्रममा विभिन्न आकर्षक प्याकेजसहित पहिलो वार्षिकोत्सव मनाउन पाउँदा उत्साह बढेको सिने रोयलका संस्थापक डा. विनोद थापाले बताए ।

डा. थापाको छोरा डा. राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमा घरको परिकल्पना डा। राहुलले गरेका थिए । गत वर्ष साउन ११ गते सिने रोयलले आफ्नो सेवा सुरु गरेको थियो ।

सिनेरोयलको एक वर्ष यात्रामा बलियुड चलचित्र गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने नेपाली चलचित्र परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सूचिमा रहेको छ । त्यसैगरी नेपाली चलचित्र महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जिन सफल सिनेमा बनेको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार १६:३७ प्रकाशित
  • Nabintech