बाँकेको जमुनाह नाकाबाट ७५ करोड बढीको जडिबुटी निकासी
  • काँचुली खबर

१० साउन, नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । नेपाल जडिबुटी व्यवसायी संघले विभिन्न प्रकारका समस्या र अवरोधका बावजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडिबुटी निकासी भएको हो।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरु रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडिबुटी निकासी गर्न सफल भएको बताए । उनले गत केही वर्षयता नेपाली जडिबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडिबुटी निकासीमा समस्या हुँदै आएपनि व्यवसायीले उत्साहजनक रुपमा जडिबुटी निकासी गरेको बताए ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्यको जडिबुटी निकासी भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सात करोडको जडिबुटी कम निकासी भएको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जडिबुटी निकासीमा केही सहजता आएकोले चालु आर्थिक वर्ष २०८१/८२ मा यो नाकाबाट एक अर्बको जडिबुटी निकासी हुने अनुमान गरिएको जडिबुटी व्यवसायी संघले जनाएको छ ।

नेपालगन्ज कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारत लगायत विभिन्न देशमा जडिबुटी निकासी हुँदै आएको छ ।

नेपाल जडिबुटी व्यवसायी संघका अनुसार यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्मु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको संघले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीहरुले बिदेश निकासी गर्दै आएका छन् ।

गोरखापत्रबाट

  • १० श्रावण २०८१, बिहीबार १३:१८ प्रकाशित
  • Nabintech