४ साउन, नरैनापुर । बाँकेको विकट मध्येको एक नरैनापुरमा २१ वर्ष पछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । बिहिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले ईलाका प्रशासन कार्यालयको भवन उद्घाटन गरेकी छन ।
कार्यालय उद्घाटन गर्दै मन्त्री केसीले इलाका प्रशासनको स्थापनासँगै अब स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य भएको बताईन । उनले एउटा नागरिकता बनाउनका लागि नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य भएको जिकिर गरेकी हुन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालयसँगको लामो प्रयास पछि दरबन्दी स्वीकृत भए पछि इलाका कार्यालय स्थापना भएको बताए ।
उनले नेपालमा संघीयता आए पनि नरैनापुरका जनताले संघीताको मर्म बुझन नपाएको प्रति दुख व्यक्त गर्दै नागरिकता बनाउन नेपालगंज जानु पर्ने बाध्यता सदाका लागि अन्त्य भएको दाबी गरे ।
इलाका प्रशासन कार्यालय नरैनापुर बिगत २१ बर्ष देखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको थियो ।
नरैनापुरमा इलाका प्रशासन २१ वर्षसम्म स्थापना हुन नसक्नुमा नरैनापुरका जनतामा शिक्षाको कमी भएको बताउदै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा बिना कुनै क्षेत्रको विकास हुन नसक्ने भएकोले शिक्षाका लागि हरेक प्रकारको संघर्ष गर्न नरैनापुरवासीलाई अपिल गरे । अध्यक्ष शाहले इलाका प्रशासन स्थापना भए पछि विस्थापीत नहुने गरी अगाडि बढन गृह प्रशासनसंग आग्रह गरे ।
नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज जाने गरेका थिए । गाउँपालिकाले कृषि शाखाको भवन दिए पछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।
इलाका प्रशासन नेपालगन्जमा हुँदा नागरिकले शारीरिक सास्तीका साथै समय, पैसा फजुल खर्च भइरहेको छ। सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालयजस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि नेपालगन्ज सारिएको थियो । तर, शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा र अरु ठाउँका कार्यालयहरु आआफ्नो कार्यक्षेत्रमा फर्किसक्दा पनि नरैनापुर क्षेत्रलाई सेवा दिन भनेर स्थापना गरिएको कार्यालय भने नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै राखिएको थियो । शान्ति सम्झौतापछि इलाका प्रशासन कार्यालय नरैनापुरमा गएर सेवा दिन सुरु पनि गरेको हो । तर गम्भीर सुरक्षा चुनौति देखिएको भन्दै आर्थिक वर्ष २०७०/०७१ सालमा नेपालगन्ज सारिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न विगतमा नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको स्मरण गर्दै उनले लामो समय पछि नरैनापुरमा स्थापना भएको इलाका प्रशासनले जनतालाई ठुलो राहत पुग्ने जिकिर गरे ।
४ श्रावण २०८१, शुक्रबार १४:२७ प्रकाशित