आजदेखि एसिया कप सुरू, युएईसँग भिड्दै नेपाल
  • काँचुली खबर

४ साउन, काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि एसीसी महिला एसिया कप २०२४ सुरू हुँदैछ । प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ।

नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको समाना गर्नेछ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। आजै हुने अर्को खेलमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्।

नेपाललाई इतिहास रच्ने मौका

नेपालले करिब आठ वर्षपछि महिला एसिया कपमा सहभागी हुन लागेको हो। नेपाली महिला क्रिकेट टिमले यसअघि दुई पटक एसिया कपमा प्रतिस्पर्धा गरिसकेको छ। सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एसिया कपमा ‘डेब्यु’ गरेको थियो। २०१६ को संस्करणमा पनि सहभागिता जनाउँदै नेपालले थप महादेशीय अनुभव प्राप्त गर्‍यो।

दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको छैन। सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो। त्यसैगरि ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन बन्दै घर फर्केको थियो।

विगत एक दशकमा पुरुष टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गर्दा महिला टोलीले भने पर्याप्त छलाङ मार्न सकेन। क्यानको अस्थिर नेतृत्वको नजरमा महिला क्रिकेट अटाउनु त दिवास्वप्न झैँ थियो। नेपाली महिला क्रिकेट एसीसीले आयोजना गर्ने क्षेत्रीय प्रतियोगितामा मात्रै सीमित थियो। अस्तव्यस्त घरेलु क्रिकेट संरचनामा महिला क्रिकेटको नाम निसान नै थिएन।

महिला क्रिकेट सदैव एक निश्चित गति र दिशाको अभावमा रह्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु संरचना, व्यावसायिक पक्ष र महिला क्रिकेटका अन्य पक्ष छिटपुट रूपमा मात्र प्राथमिकता पर्ने गर्थ्यो। क्यानको पछिल्लो समयको सकारात्मक गतिविधि र समग्र क्रिकेट खेलप्रति सरोकारवालाहरूको लगावका कारण महिला क्रिकेटले खोजिरहेको सही दिशा प्राप्त गर्ने आशा जागेको छ।

पछिल्लो समय क्यानको फेरिएको स्वरूपले महिला क्रिकेटमाथि उक्सिनेमा आशा पलाएको छ। एसिया कप २०२४ को तयारीका लागि नेपाली महिला टोली करिब एक महिनादेखि बन्द प्रशिक्षणमा रहेको छ।  नेपालले श्रीलंकामा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि रहेको छ। नेपाली महिला क्रिकेट टिमले विरलै यस्तो तयारी गर्ने मौका पाउने गरेको छ। क्यानको वार्षिक क्यालेन्डरमा महिला टोलीको द्विपक्षीय सिरिजका लागि ठाउँ छुट्टाइएको छ। सन् २०२७ मा आयोजना हुने आइसिसी महिला यु-१९ विश्व कपको आयोजनाको जिम्मा पाएको छ। रुमल्लिएको महिला क्रिकेटले अन्ततः सही निर्देशन पाउन लागेको हो झैँ भान परिरहेको छ।

महिला टोलीलाई यसपटक अभूतपूर्व सफलता हात पार्ने मौका रहेको छ। एसिया कपमा पहिलो जित दर्ता गर्दै ऐतिहासिक खुड्किलो पार गर्ने अवसर जुटेको त छ नै भावी कदमहरूका लागि अविनाशी जगको निर्माण गर्न सकिन्छ। एसिया कपका लागि घोषणा भएको १५ सदस्यीय नेपाली टोलीमा रुविना क्षेत्री र सीता रानामगरबाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन्।

पूजा महतो, कृतिका मरासिनी, कविता कुँवर आदि महिला क्रिकेटको भावी दशक धान्न सक्ने सम्भावना बोकेको खेलाडी हुन्। क्यानको अभिभावकत्वमा खेलाडीहरूको कौशल निरन्तर निखार्न सके नेपाली महिला टोलीले फड्को मार्न सक्नेमा कुनै विमति छैन। आशा गरौँ, एसीसी महिला एसिया कप २०२४ नेपाली महिला क्रिकेटको भावी सफलताको लागि सुरुवात बिन्दु साबित हुनेछ।

  • ४ श्रावण २०८१, शुक्रबार १०:०८ प्रकाशित
  • Nabintech