कोहलपुरबाट नक्कली ‘डिएसपी’ पक्राउ
  • काँचुली खबर

२ साउन, नेपालगन्ज । सिआईबी र राष्ट्रिय अनुसन्धानको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का नैनसिंह बिक पक्राउ परेका हुन् ।

प्रमुख प्रहरी उपरीक्षक कार्कीका अनुसार विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयमा आफू सिआईबी र राष्ट्रिय अनुसन्धानको ‘डिएसपी नवीन शाही हुँ’ भनी ठगी गर्ने गरेको सूचनाको आधारमा बिकलाई पक्राउ गरिएको हो । बिकले जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर ‘अनुगमनको सिलसिलामा आएको हुँ’ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि कोहलपुर ११ एनटीभी रोडबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, बिकले कुन-कुन ठाउँबाट के कति ठगी गरेको हो सो पत्ता लगाउन अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए ।

  • २ श्रावण २०८१, बुधबार १५:१३ प्रकाशित
  • Nabintech