२० मंसिर २०७९, मंगलवार
मङ्गल ग्रहमा पानीको ताल फेला पर्‍यो
  • काँचुली खबर

मार्स एक्स्प्रेसलाई मङ्गल ग्रहको सतहको अन्वेषण गर्दै गरेको तस्बिर। तस्बिरः नाशा

 

वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्। मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको खबर बिबिसीले जनाएको छ। यससँगै वैज्ञानिकहरुले त्यहाँ जीवनको अस्थित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन्।

उनीहरूले फेला पारेको ‘जलाशय’ ग्रहको दक्षिणी ध्रुवको हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै १२ माइल अर्थात २० किलोमिटर चौडा छ। मंगल ग्रहको दक्षिणी ध्रुवीय इलाकामा पाइएको नुनको लेदोसहितको ताललाई बरफले ढाकेको छ।

यसअघि गरिएका खोज अनुसन्धानमा मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो।

यसअघि नासाको क्यूरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। तर पातलो वायुमण्डल भएकाले ग्रह चिसिएको र पानी हिउँ भएर जमेको छ।

यो अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा। रोबर्टो ओरोसेई ले सम्भवत यो त्यति विशाल ताल नभएको जिकिर गरेका छन्।

मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निर्क्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ।

‘यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ। यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो हैन,’ बिबिसीसँग उनले भने।

कसरी पत्ता लाग्यो ?

मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि फेला परेको भनिएको ताल। तस्बिरः नाशा 

 

मार्सिसजस्ता राडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा सङ्केत पठाएर फर्केको प्रतिसङ्केतको परीक्षण गर्छन्। यही विधि प्रयोग गरेर मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको प्रा. ओरोसेईले बताए।

तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन। ‘हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ। त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ,’ ओपन युनिभर्सिटीका डा। मनीष पटेलले भने, ‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भने यसले जीवनका लागि अत्यावश्यक हुने पानीलाई तरल अवस्थामा रहन दिन्छ।’

उनले अगाडि भने, ‘त्यस्तो स्थानमा नै हामी हानिकारक विकिरणबाट पर्याप्त सुरक्षा पाउन सक्छौँ। र, त्यहाँ नै चाप एवम् तापक्रम बढ्न गई अन्य स्थानको दाँजोमा उपयुक्त स्तरमा पुग्ने गर्छन्।’

  • १० श्रावण २०७५, बिहीबार १७:१५ प्रकाशित
  • Nabintech