२०औँ पटक मन्त्री बने शरदसिंह भण्डारी
  • काँचुली खबर

३१ असार, काठमाडौं । वि.सं. २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुन तिर्दै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् ।

लोसपालाई ओलीले गुन तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाएका हुन् । उनी फेरि श्रममन्त्री बनेका हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम मन्त्री थिए।

वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ ।

उक्त पुस्तकमा रहेको मन्त्रिमण्डलको सूचीअनसार भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी २०७५ सम्मै १७ पटक मन्त्री बनिसकेका छन् ।

उनी त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि अहिले ओली नेतृत्वको गरी २० औँ पटक मन्त्री बनेका छन् । भण्डारी पहिलो पटक २०४३ असार २ मा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए । त्यसयता उनले ११ वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन् ।

पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीबाट सुरु भएको उनको सत्ता २० औँ पटकसम्म आइपुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा पुगेको छ । २०७९ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी यही मन्त्रालयमा थिए ।

उनले यसअघि वाणिज्य राज्यमन्त्री, विनाविभागीय राज्यमन्त्री, युवा खेलकुद तथा संस्कृति, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्रालय सम्हालेका थिए ।

लोसपा नेता भण्डारी एमालेका अध्यक्ष ओली नेतृत्वको यसअघिको सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए । त्यसअघि २०६८ भदौमा डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

भण्डारी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनै व्यवस्थामा सरकारमा सहभागी भएका नेता हुन् । उनी पञ्चायती व्यवस्था अन्तर्गत २०४३ असार २ मा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए ।

सिंह नेतृत्वको तत्कालीन सरकार पुनर्गठन हुँदा २०४५ कात्तिकमा उनको मन्त्रालय फेरिएको थियो । पुनर्गठित मन्त्रिपरिषद्मा भण्डारी वाणिज्य राज्यमन्त्री थिए ।

प्रधानमन्त्री सिंहले २०४६ भदौ १४ र चैत १९ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि भण्डारीले वाणिज्य राज्यमन्त्रीको जिम्मा पाए ।

२०४६ सालको जनआन्दोलनपछि उनी २०५२ मा फेरि मन्त्री बने । २०५२ भदौ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भए ।

देउवा नेतृत्वको उक्त सरकारमा २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री बनेका उनी २०५३ जेठ ४, जेठ २८ को पुनर्गठनमा पनि यथावत रहे । तर, २०५३ पुस २४ मा भएको पुनर्गठनमा बिनाविभागीय मन्त्रीमा उनको बढुवा भयो ।

उनी २०५४ असोज २१ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन हुँदा युवा खेलकुद तथा संस्कृति मन्त्री भए । प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुदमन्त्रीका रुपमा निरन्तरता पाएका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०५६ जेठ १७ मा सरकार गठन भएको थियो । उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाएका थिए । २०५६ असार १६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल फागुन २७ मा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

२०५८ साउन ११ मा देउवा फेरि प्रधानमन्त्री हुँदा भण्डारीले फेरि स्वास्थ्यमन्त्री बन्ने अवसर पाएका थिए । माधवकुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भण्डारी २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए ।

२०७८ असार २९ मा कांग्रेस सभापति देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री थिए ।

  • ३१ असार २०८१, सोमबार १६:१५ प्रकाशित
  • Nabintech