नेपालगन्जमा डिजिटल प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
  • काँचुली खबर

३० असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा सामाजिक रूपान्तरणका लागि डिजिटल प्रविधिसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजना तथा भारतको बरेलीस्थित राजश्री इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको सहकार्यमा शनिबार नेपालगन्जमा डिजिटल प्रविधिसम्बन्धी गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा नेपाल, भारत, चीन हुँदै क्यानडासम्मका सूचना प्रविधिका विशेषज्ञहरूले आफ्नो प्रस्तुति राखेका थिए । विभिन्न सत्रमा विभाजन गरिएको अन्तर्राष्ट्रिय स्तरको गोष्ठीमा भौतिक तथा भर्चुअल गरी झण्डै दर्जन बढि विशेषज्ञहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका भिसी प्रोफेसर डा. विनोद प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रजिष्टार रेग बहादुर भण्डारीले संस्थागत रूपमा आफुहरूले गरेको अभ्यास र अन्तर्राष्ट्रिय गोष्ठीसँगको अपेक्षासहितको अवधारणा प्रस्तुत गरेका थिए ।

त्यसैगरी राजश्रीका डिपाटमेन्ट प्रमुख डा. रविश अग्रवालले लुम्बिनी प्राविधिक विश्वविद्यालयसँग प्रविधिका शैक्षिक विषयमा सहकार्य गरेर जान सकिने सम्भावनाहरू र आफ्नो संस्थागतबाट भैरहेको अभ्यासबारे प्रस्तुति राखेका थिए ।

कार्यक्रममा नेशनल फरन्सेकिस साइन्स यूनिभिर्सिटिका डा. इन्द्रजित सिंह, राजश्रीका एशोसिएट प्रोफेशर डा. नीतिन विष्ट, इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका एशोसिएट प्रोफेसर डा. तारा प्रसाद बन्जाडे, त्रिभुवन युनिभर्सिटीका एशोसिएट प्रोफेसर तेज शाही, काठमाडौं युनिभर्सिटीको प्रोफेसर डेनी शाही, लुम्बिनी प्राविधिक विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर हरपित सिंह लगायत दर्जन बढी विषयविज्ञहरूले आफ्ना प्रस्तुतिहरू भौतिक तथा भर्चुअल माध्यमबाट राखेका थिए ।

बहसमूलक प्रस्तुतिहरूमा त्रिभुवन विश्वजविद्यालयका प्रा.डा. सुवर्ण शाक्य, डिन डा. मनिष पोखरेल लगायतले विभिन्न सत्रको अध्यक्षता गरेका थिए भने कार्यक्रमको संयोजन सुर्य बस्नेतले गरेका थिए ।

  • ३० असार २०८१, आईतवार १६:२० प्रकाशित
  • Nabintech