बाँकेमा जग्गाको नयाँ मूल्य निर्धारण, ५० प्रतिशतसम्म वृद्धि
  • काँचुली खबर

२९ असार, नेपालगन्ज । बाँके जिल्लामा जग्गाको सरकारी मूल्य उल्लेख्य मात्रमा वृद्धि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा हालै बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले जग्गाको सरकारी मुल्यमा ५० प्रतिशतसम्म वृद्धि गरेको हो ।

बैठकले बाँकेका आठ वटै स्थानीय तह अन्तर्गत जग्गाको न्यूनतम मूल्याङ्कन गर्दै मूल्य वृद्धि गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । पालिकास्थित राजस्व परामर्श समितिहरूको सिफारिसका आधारमा सो मूल्य निर्धारण गरिएको बाँकेका प्रजिअ रिजालले जानकारी दिए । पालिकास्थित राजस्व परामर्श समितिहरूका सिफारिस, बैंकहरूको मूल्यांकन र चलन चल्तीको मूल्यका आधारमा सो मूल्य निर्धारण भएको उनले जनाए ।

उनका अनुसार सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा बढी मूल्य नेपालगन्जको रहेको छ । नेपालगन्ज उपमहानगरको जग्गालाई ‘क’ देखि ‘छ’ सम्म वर्गीकरण गरेर मूल्य निर्धारण गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज उपमहानगरपालिका भित्रको ‘क’ वर्गमा पर्ने जग्गाको न्यूनतम मूल्य प्रतिकट्ठा एक करोड १४ लाख ५९ हजार ७५० सम्म कायम गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढेको हो ।

त्यसैगरी, कोहलपुर नगरपालिकाका मुख्य सडकआसपासका जग्गा प्रतिकठ्ठा २५ प्रतिशतका दरले वृद्धि भएको छ । कोहलपुरका मुख्य सडकभित्रका पक्की र ग्राभिल सडकमा भने २० प्रतिशत, भित्री सडकमा १५ प्रतिशत र नक्सामा सामान्य बाटो भएका सडकमा १० प्रतिशतका दरले मूल्य वृद्धि गरिएको छ । त्यस्तै, साविक रझेना गाविसका पक्की सडकआसपासका जग्गा पनि २५ प्रतिशतकै दरले मूल्य वृद्धि गरिएको मालपोत कार्यालय बाँकेका कर्मचारी वीरेन्द्र कार्कीले जानकारी दिए ।

बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको जग्गाको मूल्य वृद्धि भएको छ । खजुराको मुख्य सडकआसपासको जग्गामा प्रतिकठ्ठा ५० प्रतिशतका दरले मूल्य वृद्धि भएको कार्कीले जानकारी दिए । गत आवमा १५ लाख ६० हजार प्रतिकठ्ठा मूल्य निर्धारण भएको खजुरा मुख्य सडक छेउछाउको जग्गा ५० प्रतिशत वृद्धि भएपछि २३ लाख ४० हजार प्रतिकठ्ठा कायम भएको छ । नेपालगन्ज-गुलरिया हुलाकी सडक चार लेनको बनेपछि खजुराको जग्गाको मूल्य भारी दरमा वृद्धि भएको छ ।

त्यसैगरी, खजुरा गाउँपालिकाको वडा नम्बर १ को राधापुरमा पनि ५० प्रतिशतले जग्गाको मूल्य वृद्धि भएको छ । खजुरा बजारदेखि केही भित्र रहेको जग्गा भए पनि त्यहाँको जग्गाको भारी मूल्य वृद्धि भएको छ ।

यसअघि राधापुरको पक्की सडकसँग जोडिएको जग्गा प्रतिकठ्ठा १ लाख ८० हजार सरकारी मूल्य कायम भएकोमा ५० प्रतिशतले वृद्धि भएको हो । राधापुर आसपासका जग्गाहरूको मूल्यका तुलनामा सो स्थानको जग्गाको मूल्य विगतमा कम भएकाले यस वर्ष बढी निर्धारण भएको हुनसक्ने कार्र्कीको भनाइ छ ।

त्यस्तै, बैजनाथ गाउँपालिकाका जग्गा एकमुष्ठ रूपमा प्रतिकठ्ठा २० प्रतिशतका दरले मूल्य वृद्धि गरिएको छ । नेपालगन्जका मुख्य सडक क्षेत्रका जग्गाको मूल्य १५ प्रतिशतका दरले वृद्धि भएका छन् । नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड, न्यूरोडलगायतका क्षेत्रका जग्गा प्रतिकठ्ठा १५ प्रतिशतका दरले वृद्धि गरिएको हो ।

गत आवमा सो क्षेत्रका जग्गा ९९ सय लाख ६३ हजार प्रतिकठ्ठा कायम भएकोमा १५ प्रतिशत वृद्धि हुँदा यस आवमा १ करोड १४ लाख ५७ हजार ४ सय ५० रुपैयाँँ कायम हुने भएको छ । जानकी र डुडुवा गाउँपालिकामा भने पक्की, ग्र्याभिल र सडक पुगेका जग्गाहरूमा प्रतिकठ्ठा १०-१० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ ।

बैजनाथ गाउँपालिका बाहेकका पालिकाहरूका कुनै पनि खेतीयोग्य जमिनमा भने कुनै मूल्य वृद्धि नभएको कार्कीले जानकारी दिए । नेपालगन्ज र कोहलपुर नगर क्षेत्रका पनि खेतीयोग्य जमिनको मूल्य वृद्धि भएको छैन ।

जिल्लामा जग्गाको सरकारी मूल्याङ्कनभन्दा वास्तविक किनबेचको मूल्याङ्कन भने निकै बढी रहेको छ । सोही आधारमा जिल्लामा जग्गाको कारोबार बढी हुने गरेको छ ।

सो बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु र मालपोत कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

  • २९ असार २०८१, शनिबार १८:२१ प्रकाशित
  • Nabintech