बाँकेमा २५ प्रतिशत रोपाइँ सम्पन्न, उत्पादन राम्रो हुने प्रक्षेपण
  • काँचुली खबर

२५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए ।

उनले यो साता जिल्लामा प्रयाप्त वर्षा भएकोले आठ वटै पालिकामा रोपाइँ तिव्र गतिले भइरहेको जनाउँदै आगामी दस दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको बताए । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रुपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन् । सोही कारणले सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा धान उत्पादन हुने सब खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले बताए ।

बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।

  • २५ असार २०८१, मंगलवार १६:४७ प्रकाशित
  • Nabintech