एसईईमा बाँकेका १० वटा विद्यालयको नतिजा शतप्रतिशत
  • काँचुली खबर

२१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन हजार ४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन ।

एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेको बाँकेमा १०१ वटा सामुदायिक र ९७ वटा निजी विद्यालय गरी १९८ वटा माध्यमिक विद्यालय छन् । जसमध्ये १० वटा विद्यालयको नतिजा शतप्रतिशत आएको छ भने १६ वटा विद्यालय निल भएका छन ।

यस पटक बाँकेमा कोहलपुर क्षेत्रका ३, नेपालगन्ज क्षेत्रका ४, बैजनाथ गाउँपालिकाका २ र खजुरा गाउँपालिकाका १ गरी १० वटा विद्यालयले भने शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन ।

कोहलपुर नगरपालीका अन्तर्गत जनज्योती पब्लिक स्कुल, जीवनज्योती स्कुल र पञ्चमुखी इङगलिस मिडियम स्कुलले शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन । एसईईमा सहभागी भएका जनज्योतीका ५६, जीवनज्योतीका ४१ र पञ्चमुखीका ३८ जना सबै विद्यार्थी पास भएका हुन ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा रहेको स्प्रिङडेल एकेडेमी कारकाँदोका ३७ जना, सगरमाथा इङगलिस बोर्डिङ स्कुल कारकाँदो ३२ जना, भेरी विद्या मन्दिर राँझाका ७ जना र ब्राइट होप एकेडेमीका १७ जना विद्यार्थीले एसईई दिएका थिए । उनीहरु सबैजना पास हुदा यी विद्यालय शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन ।

यसैगरी भेरी फ्युचर स्टार इङगलिस मिडियम स्कुल बैजनाथका १४ जना, स्काईल्याण्ड इङगलिस मिडियम स्कुल बैजनाथका १९ जना तथा गुराँस चाइल्डहुड एकेडेमी सितापुर खजुराका २३ जना विद्यार्थी शतप्रतिशत पास भएका छन ।

अर्कोतर्फ बाँकेका १६ वठा विद्यालयको नतिजा शुन्य आएको छ । जसमा १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालय रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले चलाइरहेको नेपालगन्ज कन्या माविले समेत यस पटकको एसईई परिक्षामा एक जना विद्यार्थी पनि पास गराउन सकेन ।

यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ‘ए प्लस’, ९३१ विद्यार्थीले ‘ए’, एक हजार ९१ जना विद्यार्थीले ‘बी प्लस’, ६३० जना विद्यार्थीले ‘बी’ र ९१ जना विद्यार्थीले ‘सी प्लस’ नतिजा ल्याएका छन् ।

  • २१ असार २०८१, शुक्रबार १८:४३ प्रकाशित
  • Nabintech