लुम्बिनी प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सव सम्पन्न
  • काँचुली खबर

१८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपालगन्जमा विश्वविद्यालयको दोस्रो वार्षिक उत्सव कार्यक्रम आयोजना गरीएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले स्वदेशमै अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना गरेको बताए ।

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री महराले स्वदेशमै अब्बल जनशक्ति तयार पार्ने उद्देश्यले विश्व विद्यालयको स्थापना गरीएको बताए । विश्वविद्यालयलाई देशमै प्राविधिक शिक्षालयको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको उनको भनाई थियो ।

उनले उच्च शिक्षामा नेपालका विश्वविद्यालय पनि सक्षम रहेको भन्दै युवा पुस्तामा सकारात्मक सोच र भावनाको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा विश्व विद्यालयका सहकुलपति रत्नबहादुर खत्रीले विश्वविद्यालयको जग्गा प्राप्तिका लागि केन्द्र सरकारसँग आग्रह गरे । मन्त्री खत्रीले स्थानीय तहबाट भएको सिफारिसलाई तत्काल कार्यान्वयन गरेर विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. महेन्द्रमान गुरुङ, भूमि व्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल अहिले विश्व विद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै विश्व विद्यालयलाई पश्चिम नेपालको मात्रै नभएर विश्वमै चिनारी दिन सक्ने शैक्षिक संस्थाको रूपमा अघि बढाउन आग्रह गरेका थिए ।

  • १८ असार २०८१, मंगलवार १९:०५ प्रकाशित
  • Nabintech