मध्य असारसम्म बाँकेमा ४ प्रतिशत मात्र रोपाँइ
  • काँचुली खबर

१५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु, असार १५ सम्म पनि पानी नपर्दा निरास बनेका छन् ।

असार १५ गते बिहानसम्ममा कृषि ज्ञान केन्द्र बाँकेले ४ प्रतिशत मात्र रोपाँई भएको जानकारी दिएको छ । समयमा पानी नपर्दा रापाँई हुन नसकेको ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत अनसि श्रेष्ठले जानकारी दिए । उनले अघिल्लो वर्षहरुमा असार १५ सम्ममा १५ देखि २० प्रतिशत धान रोपाँई हुने गरेकोमा यस वर्ष पानी नपरेका कारण हुन नसकेको बताए । जेठ महिनामा पानी नै नपरेकाले ब्याड हाल्ने काम नै नभएको बताउँदै उनले भाद्रको पहिलो साता सम्ममा बाँकेमा रोपाँई सहिने अनुमान गरे । बाँकेमा ३४ हजार ८५० हेक्टर जमिनमा धान खेती हुने गरेको उनले बताए ।

बाँके खजुरा ८ का किसान भगवानदिन थारुले मौसम विज्ञहरुले किसानलाई झुक्याएको बताए । छिटो मनुसन भित्रिएको समाचार सुनेर बिउ हालेकोमा बिउ खेतमै सुकेको उनले बताए । लामो समयको सुख्खाले बाँकेमा सामान्य हेण्डपम्प र मोटरमा समेत पानी आउन छाडेको छ ।

जिल्लामा ५७ हजार २५२ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकोमा ५२ हजार ८३८ हेक्टरमा खेती गर्ने गरिएको छ । बाँकेमा १८ हजार ५७२ हेक्टर जमिनमा मात्र सिँचाईको सुबिधा पुगेको छ ।

  • १५ असार २०८१, शनिबार १५:०१ प्रकाशित
  • Nabintech