६ असार, कोहलपुर । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएको छ ।
स्थानीय पप्पु यादवले दिएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० घर जलेर खरानी भएको हो । उनले आगलागी भएलगत्तै नेपालगन्जमा वारुणयन्त्रलाई जानकारी गराउँदा केही समयमा दमकल गाउँ नजिक पुगे पनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको बताए ।
दमकल गाउँमा छिर्न नसकेपछि प्रहरी र स्थानीयले आगो निभाउन निकै प्रयास गरे पनि अधिकांश घरहरु जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका स्वयंसेवक राम मनोहर यादवले बताए । उनले आगलागीबाट ३० भन्दा बढी परिवार घरबारविहीन भएको जनाउँदै उनिहरुलाई नजिकैको विद्यालयमा राखिएको बताए ।
राप्ती नदीको छेउमा रहेको सो गाउँमा हरेक वर्ष बाढीले ठुलो क्षति पुर्याउँदै आएकोमा यस पटक बाढी आउनुभन्दा पहिले नै आगलागीबाट सबै जलेर नष्ट भएको अर्का स्थानीय तिलक यादवले बताए ।
अहिले क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ भने आगलागीबाट धेरै ठुलो परिमाणमा खाद्यान्न, लुगा लत्ता, भाँडा बर्तन, नगद र गरहना जलेको स्थानियले बताएका छन ।
६ असार २०८१, बिहीबार १३:५८ प्रकाशित