६ असार, कोहलपुर । हावाहुरीले विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् ।
हावाहुरीका कारण कैयौँ स्थानमा बिजुलीका पोलहरू ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएका कारण नेपालगन्जका केही स्थानमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।
“गए राति पौने दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा बिजुलीका धेरै पोल ढलेका छन्, दर्जनौँ तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।” नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई. जगन्नाथ लामिछानेले भने ।
“राति देखिनै हामी विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमै छौँ, नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेका छौँ, अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ ।” उनले भने, “बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेका छौँ ।”
चालु भएका दुई वटा सर्किटबाट नेपालगन्जका फुल्टेक्रा, बसपार्क, एयरपोर्ट फिडरको भाटभटेनी, न्यूरोड, बागेश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विद्युत् सुचारु भएको र बाँकी दुई वटा सर्किटबाट प्रसारण हुने सदरलाइन, सुर्खेतरोड, वोर्डर साइड, विपी चोकको पश्चिम क्षेत्रलगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको उनले बताए ।
उनका अनुसार कोहलपुर-नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा रहेको सुकेको रुखको हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरूलाई टुक्रा टुक्रा पारेर काट्ने काम भइरहेको छ ।
करिब २५ वटा पोल ढलेको उनले बताए । “यकिन तथ्याङ्क अझै प्राप्त भइसकेको छैन, करिब २५ पोल भाँचिएको अनुमान छ, भाँचिएका पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ” ई. लामिछानेले भने ।
पोलमा तारको लोडले तान्दा एक पोल ढल्दा क्रमशः अन्य पोलहरू पनि ढल्ने गरेको उनले बताए । “सिमेन्टेड पोलहरू बाङ्गिने, लचकदार हुँदैनन्, एक पोल ढल्यो भने तारको लोडले नजिक रहेका अन्य पोलहरू पनि क्रमशः तान्दै लैजान्छ र ढल्न पुग्छ” उनले भने ।
६ असार २०८१, बिहीबार १३:११ प्रकाशित