महासंघको जग्गा अतिक्रमण रोक्न प्रशासनको ध्यानाकर्षण
  • काँचुली खबर

५ असार, नेपालगन्ज । नेपाल पत्रकार महासंघको जग्गा अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराईएको छ । बुधबार महासंघ बाँकेका अध्यक्ष सहितको टोलीले महासंघको जग्गा अतिक्रमण रोक्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा महासंघको भवनसँगै रहेको जग्गा स्थानीय भू-माफियाले कब्जा गर्ने प्रयास गरेपछि माहासंघ प्रतिकारमा उत्रिएको हो ।

तत्कालिन नेपालगन्ज नगरपालिकाले सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार २०६६ भदौमा महासंघलाई कित्ता नम्बर ४३ को ०-२-१४१/२ क्षेत्रफलको उक्त जग्गा भोगाधिकारका रुपमा उपलब्ध गराएको थियो । उक्त जग्गामा महासंघले दुई वटा भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

महासंघको खाली जमिनमा आँखा लगाएर जग्गा ब्यापारी समेतको मिलेमतोमा वडाअध्यक्ष गोपाल पुन र स्थानीय टोल विकास समितिका अध्यक्ष कर्णबहादुर मल्ल नेतृत्वको समुहले बिना कुनै सहमती रातारात महासंघको जग्गामा सडक निर्माणकालागी पिसिसी ढलान गरेका छन ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा बुधबार बिहान जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको पत्रकारको टोलीले जग्गा अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो । उपमहानगरपालिकाले महासंघको जग्गा मिचेर बाटो नबनाउन निर्देशन दिदाँ दिदै पनि वडाअध्यक्ष पुनले बजेट दुरुपयोग गरेर जबरजस्ती रुपमा बाटो बनाउन लगाउनुले उनको भूमिकाप्रति शंका उत्पन्न भएको अध्यक्ष भण्डारीले बताए ।

वडाअध्यक्ष पुन आर्थिक प्रभावमा परेर भू-माफियाको पक्षमा लागेको उनको आशंका छ ।

  • ५ असार २०८१, बुधबार १९:३७ प्रकाशित
  • Nabintech