फेरी पनि ब्याटिङमा चुक्याे नेपाल, बलिङमा सानदार प्रदर्शन
  • काँचुली खबर

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Kushal Malla of Nepal bats as Litton Das of Bangladesh keeps during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

३ असार, काठमाडौँ । टी-२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।

जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी-२० विश्वकपमा कुनै पनि टोलीले रक्षा गरेको यो सबैभन्दा न्यून लक्ष्य थियो ।

नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए ।

त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साकिब अल हसनले २ विकेट लिए ।
नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।
नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग-स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।
बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३-१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
नेपाली बलरले खेलको प्रारम्भदेखि नै बंगलादेशी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बंगलादेले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । सोमपाल कामीले बंगलादेशका ओपनर ब्याट्सम्यान तानजिद हसनलाई खाता खोल्नुअघि नै पेभेलियन फर्काएका थिए । सोमपालले आफ्नो बलमा आफैले तानजिदको क्याच लिएका थिए ।
बंगलादेशको दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोलाई चार रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १.३ ओभरमा कप्तान सान्तो आउट हुँदा बंगलादेशले केवल सात रन बनाएको थियो ।

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES – JUNE 16: Sandeep Lamichhane of Nepal walks off the field with teammates after the first innings during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

यसैगरी बंगलादेशले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर लिटन दासलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान लिटन दासको विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लिटन दासलाई १० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा लिटन दास आउट हुँदा बंगलादेशले २१ रन बनाएको थियो ।
बंगलादेशको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई नौ रनको ब्यक्तिगत स्कोरमा सन्दीप लामिछानेद्वारा क्याच गराए । ५.४ ओभरमा हृदोय आउट हुँदा बंगलादेशले ३० रन बनाएको थियो ।
बंगलादेशले पाँचौँ विकेटका रुपमा महमुदुल्लाहलाई गुमाएको थियो । उनी १३ रन बनाउँदै रन आउट भएका थिए । नवौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा बंगलादेशले ५२ रन बनाएको थियो । उनलाई रन आउट गराउन सन्दीप लामिछाने र गुलसान झाको योगदान रह्यो ।
यसैगरी बंगलादेशले छैटौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई गुमाएको थियो । उनको विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले सकिब अल हसनलाई १७ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ११.४ ओभरमा सकिब आउट हुँदा बंगलादेशले ६१ रन बनाएको थियो ।
बंगलादेशको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । उनले बंगलादेशका तानजिम हसन सकिबलाई तीन रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । बंगलादेशले १३.२ ओभरमा सातौँ विकेट गुमाउँदा ६९ रन बनाएको थियो ।
बंगलादेशको आठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । उनले बंगलादेशका जाकेर अलीलाई १२ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १५.३ ओभरमा आठौँ विकेट गुमाउँदा बंगलादेशले ७५ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिएको यो एक सयौँ विकेट थियो ।
यसैगरी बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले बंगलादेशका ब्याट्सम्यान रिसाद होसैलाई १३ रनको ब्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा नवौँ विकेट गुमाउँदा बंगलादेशले ८८ रन बनाएको थियो ।
बंगलादेशले अन्तिम विकेटका रुपमा मुस्तफिजुर रहमानलाई तीन रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रन आउट भएका थिए । उनलाई रन आउट गराउन रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको योगदान रह्यो । तास्किन अहमद भने १२ रनमा अविजित रहे । बंगलादेशले अतिरिक्त रुपमा १० रन पायो ।
  • ३ असार २०८१, सोमबार ०९:१४ प्रकाशित
  • Nabintech