शरीर चिलाउने ‘एक्जिमा’ के हो ? कसरी हुन्छ ?
  • डा. प्रज्ज्वल पुडासैनी

छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । यो समस्याले बच्चादेखि वृद्ध समेतलाई सताउँछ । विश्वभरमा करिब २० प्रतिशत बालबालिका र ३ प्रतिशत वयस्क कुनै न कुनै प्रकारको एक्जिमाको सामना गरिरहेका छन् ।

के हो एक्जिमा ?

कुनै कारणवश छालाको कोषिकाहरुको बीचमा सुन्निएर बाहिरी छालामा देखिने समस्या एक्जिमा हो । एक्जिमा आफैंमा बृहत छ । जसअन्तर्गत छाला पोल्ने, रातो बिमिरा, चिलाउने, अति सानो फोका र डल्लो आउने, हल्का पीप र पानी बगिरहने, छाला कडा हुने तथा छाला फुस्रो हुने जस्ता लक्षण देखा पर्छ ।

कुन-कुन अंगमा देखिन्छ ?

एक्जिमा हात, घाँटी, कुहिनो, घुँडा, खुट्टा, अनुहार विशेषगरी घाँटी, कान र ओठको वरिपरि असर गर्छ । कहिलेकाहीं यो निप्पल, स्तन र लिङ्गको छालामा पनि देख्न सकिन्छ ।

कारण

– साबुन, डिटर्जेन्ट, स्याम्पु र अन्य लुगा धुने तरल पदार्थमा बढी चल्दा छालामा एक्जिमा हुनसक्छ ।

– कपाल रंगाउँदा प्रयोग हुने रसायन, सिमेन्ट, धुवाँधुलोको कण र बोटविरुवामा हुने एलर्जी गर्ने तत्वले हुनसक्छ ।

– धातुको सम्पर्कले पनि एक्जिमा गराउँछ । गहना लगाउने जस्तै, कान, नाइटो र हातमा लगाउँदा यो समस्या हुनसक्छ ।

– घामबाट निस्कने हानिकारक विकिरणले पनि नाङ्गो छालामा एक्जिमा गराउन सक्छ । विशेषगरी खेतबारीमा काम गर्ने व्यक्तिको हात, खुट्टा, गर्दन, छातीको माथिको भागमा यो समस्या देखिन्छ ।

– बुबाआमामा एलर्जी भइराख्ने, बिमिरा निस्कने समस्या छ भने सन्तानमा पनि एक्जिमा हुनसक्छ ।

– चिसो, सुक्खा मौसममा पनि छाला फुस्रो रहने हुँदा यो समस्या देखिन सक्छ ।

– भेरीकोजको समस्या हुँदा पनि छालामा एक्जिमा हुनसक्छ ।

– गाईको दूध, बदाम, गहुँको पिठो, सोया, अण्डा लगायतका खानेकुराको एलर्जीले केही मानिसमा साइड इफेक्टको रूपमा एक्जिमा निम्त्याउँछ ।

– गर्भावस्था, महिनावारी र रजोनिवृत्तिको समयमा हर्मोनल परिवर्तनको कारण एक्जिमा देखिन सक्छ । यद्यपि, सबैलाई देखिन्छ भन्ने हुँदैन ।

– गर्मीयाममा कीराहरु व्यापक हुन्छन् । तिनको सम्पर्कमा आउँदा पनि एक्जिमा हुनसक्छ ।

– भाइरल संक्रमण र कपालमा चाया पर्दा पनि यो समस्या देखिन्छ ।

यसलाई पनि विभिन्न भागमा विभाजित गरिएको छ ।

एटोपिक डर्मेटाइटिस : यो एक्जिमा सबैभन्दा बढी देखिन्छ । जुन एक्जिमा एकपटक निको भएपछि पनि आउन सक्छ ।

कन्ट्याक्ट डर्मेटाइटिस : जब कुनै व्यक्तिको छाला कुनै वस्तुको सम्पर्कमा आएर एलर्जी हुन्छ, त्यसलाई ‘कन्ट्याक्ट डर्मेटाइटिस’ भनिन्छ ।

डिसाइड्रोटिक एक्जिमा : हातखुट्टा र औंलाहरूबीचको भागमा हुने साना फोकाहरुलाई डिसिड्रोटिक एक्जिमा भनिन्छ । यस प्रकारको एक्जिमाले प्रायः २० देखि ४० वर्ष उमेरका मानिसलाई असर गर्छ ।

न्युरो डर्माटाइटिस : शरीरको कुनै एक अंगमा अत्याधिक चिलाउनु र कहिलेकाहीं यो चिलाउने समस्या लामो समयसम्म रहन्छ । विश्वभरका करिब १२ प्रतिशत मानिस न्युरो डर्माटाइटिस एक्जिमाबाट पीडित छन् ।

न्युम्युलर एक्जिमा : यस प्रकारको एक्जिमामा सिक्काको आकार जस्तै दाग बन्ने गर्छ, जसमा धेरै चिलाउँछ ।

सेबोरेहिक डर्मेटाइटिस : यस प्रकारको एक्जिमा लामो समयसम्म रहन्छ । यो समस्या प्रायः टाउको, नाक र ढाडमा देखिन्छ ।

स्टेसिस डर्मेटाइटिस : यस प्रकारको अवस्थामा शरीरको तल्लो भाग, विशेषगरी खुट्टामा खराब रक्त सञ्चारको कारण एक्जिमाको समस्या उत्पन्न हुन्छ । यो एक्जिमाले प्रायः ५० वर्षभन्दा माथिका मानिसलाई असर गर्छ ।

पहिचान

यसको पहिचान लक्षणको आधारमा गरिन्छ । सबैभन्दा पहिला ‘मेडिकल हिस्ट्री’को जानकारी लिइन्छ । सोहीअनुसार एलर्जी परीक्षण, रगत परीक्षण र छालाको बायोस्पी लिइन्छ । तर यो सबै परीक्षण सबैलाई जरुरी नहुन पनि सक्छ ।

उपचार

– एलर्जी भएमा त्यसको पहिचान गरी प्रयोग नगर्ने ।

– छालाबाट पिप र पानी बग्ने समस्या भएमा नुन पानी वा पोटासियम पानीले सफा गरिराख्ने ।

– छाला सुक्खा भइरहन्छ भने चिकित्सक सल्लाहमा दिनको तीनदेखि चार पटक मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

– केही स्थितिमा चिकित्सकले दुई सातासम्मको औषधि दिन सक्छन् । छाला चिलाउने र सुन्निएको छ भने एन्टिइन्फ्लेमेटरी औषधि एन्टिहिस्टामाइन र कोर्टिकोस्टेरोइड औषधि र संक्रमण छ भने एन्टिबायोटिक औषधि दिइन्छ ।

– कसैमा लाइट थेरापीको पनि प्रयोग गर्नुपर्ने हुनसक्छ ।

एक्जिमा कसरी नियन्त्रण गर्ने ?

जब एक्जिमाको लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेला नै यसलाई नियन्त्रण गरेमा निको हुन्छ । एक्जिमाको लक्षण जस्तै अलि(अलि छाला सुक्खा भएर चिलाउन थाल्दा चिलाएको भाग पानीमा हल्का भिजाएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । पछि बिस्तारै बिस्तारै आफैं ठीक हुन थाल्छ ।

त्यस्तै, यसबाट बच्न सनस्क्रिन, मोइस्चराइजरको प्रयोग, पूरा बाहुला भएको लुगा लगाउने, केमिकलको सम्पर्कमा बस्नुपर्ने भएमा पञ्जा र मास्क लगाउन सकिन्छ ।

डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

  • ३० जेष्ठ २०८१, बुधबार १४:१८ प्रकाशित
  • Nabintech