टी-२० विश्वकप : पहिलो पटक श्रीलंकाविरुद्ध खेल्दै नेपाल
  • काँचुली खबर

२९ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ ।

त्यो समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । त्यो समूहमा हालसम्म पाँच खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो ।

यसैगरी तेस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहको पाँचौँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ ।

अङ्क तालिकाको समीकरण

समूह ‘डी’ मा हालसम्म नेपालले एक खेलमात्र खेलेको छ । बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकाले भने दुई-दुई खेल खेलेका छन् । दक्षिण अफ्रिकाले तीन खेल खेलिसकेको छ । तीन खेलबाट ६ अङ्क बटुलेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा आसीन छ ।

दुई खेलबाट दुई अङ्क बटुलेको बंगलादेश दोस्रो स्थानमा आसीन छ । दुई खेलबाट दुई अङ्क हात पारेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका नेपाल र श्रीलंकाले भने हालसम्म खाता खोल्न सकेका छैनन् ।

लगातार दुई हारसँगै श्रीलंकाको अगाडि बढ्न सम्भावना निकै कम भइसकेको छ । नेपालको भने सुपर-८ चरणमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैले बुधबार बिहान खेलिने श्रीलंकाविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

त्यो खेलमा विजयी भए नेपालले आफूलाई सुपर-८ को दौडमा कायम राख्नेछ । तर, त्यो खेलमा श्रीलंकासँग पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कमजोर बन्नेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली सुपर-८ चरणमा पुग्ने प्रावधान रहेको छ ।

नेपालको दोस्रो सहभागिता

आईसीसी टी-२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो ।

आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै ‘सुपर-१०’ चरणमा पुगेका थिए । पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका बंगलादेश र जिम्बाबेले छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्यसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । दुवै समूहबाट एक-एक टोली ‘सुपर-१०’ चरणमा पुग्ने प्रावधान थियो ।

नेपालले पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो ।

समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई-दुई खेलमा जित र एक-एक खेलमा हारको नतिजा निकालेका थिए । समूहगत चरणमा नेपाल र बंगलादेशको चार-चार अङ्क थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर-१०’ चरणमा पुगेको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।

यसपटक पनि नेपाली टोली छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा ओमान विजेता र नेपाल उपविजेता बन्दै विश्वकपमा पुगेका हुन् ।

श्रीलंकाको नवौँ सहभागिता

टेस्ट राष्ट्र श्रीलंकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी-२० विश्वकपमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । टी-२० विश्वकपमा श्रीलंकाको यो नवौँ सहभागिता हो । श्रीलंकाले हालसम्म एकपटक टी-२० विश्वकपको उपाधि चुमेको छ ।

श्रीलंकाले सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाली टोलीले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि वाहेक पनि श्रीलंकाली टोली दुईपटक टी-२० विश्वकपको फाइनलमा पुगेको थियो ।

सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा श्रीलंका फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई पाकिस्तानले आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०१२ मा पनि फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा श्रीलंकालाई वेस्ट इन्डिजले ३६ रनले हराएको थियो ।

श्रीलंकाली टोली अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ विश्वकपमा छनोट भएको हो । सन् २०२२ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आठौँ स्थानसम्म रहेका राष्ट्रले सिधै नवौँ संस्करणमा प्रवेश पाउने प्रावधान रहेको थियो ।

टी-२० विश्वकपमा नेपालको पाँचौँ खेल

आईसीसी टी-२० विश्वकपमा नेपालले हालसम्म चार खेल खेलिसकेको छ । बुधबार बिहान खेलिने श्रीलंकाविरुद्धको खेल टी-२० विश्वकपमा नेपालका लागि पाँचौँ खेल हुनेछ । नेपालले हालसम्म खेलेका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

टी-२० विश्वकपमा सर्वाधिक खेल खेल्ने श्रीलंका

टी-२० विश्वकप क्रिकेटमा सबैभन्दा बढी खेल खेल्ने राष्ट्र हो, श्रीलंका । श्रीलंकाले टी-२० विश्वकपमा ५३ खेल खेलेको छ । अन्य कुनै टोलीले यति धेरै खेल खेलेको छैन । श्रीलंकाले टी-२० विश्वकपमा ३१ खेल जितेको छ भने २१ खेलमा हार बेहोरेको छ । श्रीलंकाको एक खेल भने बराबरीमा सकिएको छ ।

एक-अर्काका लागि नयाँ प्रतिद्वन्द्वी

आईसीसीको एसोसिएट्स सदस्य राष्ट्र नेपाल र टेस्ट राष्ट्र श्रीलंकाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म आपसमा एक खेल पनि खेलेका छैनन् । यी दुई टोली टी-२० विश्वकपअन्तर्गत बुधबार बिहान हुने खेलमा एक-अर्काविरुद्ध पहिलो पटक मैदानमा ओर्लने छन् ।

वर्षाले खेल बिथोल्न सक्ने

नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन । यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाल र श्रीलंकाको टोली

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

श्रीलंकाली टोली : वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका, कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा सामराबिक्रमा, एन्जेलो म्याथ्युज, दुसान सानका, धनन्जय डा सिल्भा, महिश थिक्सना, दुनिथ वेलालागे, दुसमन्था चामिरा, नुवान थुसरा, माथिसा पाथिराना र दिल्सान मदुसानका ।

  • २९ जेष्ठ २०८१, मंगलवार १९:२९ प्रकाशित
  • Nabintech