बाँकेको ५४ हेक्टर क्षेत्रफलमा वृक्षारोपण, तीन लाख बिरुवा उत्पादन
  • काँचुली खबर

२३ जेठ, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले यस वर्ष तीन लाख बिरुवा उत्पादन गरेको जनाएको छ । बिरुवा उत्पादन गरी वितरण तथा आफैले विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले माग अनुरूप बिरुवा भने वितरण गर्न नसकेको डिभिजन वन कार्यालय नेपालगन्जका सूचना अधिकारी वीरेन्द्र रोकाले बताए ।

उनले यस वर्ष बाँकेमा ५४ हेक्टरमा ८६ हजार चार वृक्षारोपण गर्ने लक्ष्य रहेकोमा गत साउनमा २८ हेक्टरमा ४४ हजार आठ बिरुवा रोपिसकेको र असार महिनामा २६ हेक्टरमा ४१ हजार सय बिरुवा रोपिने बताए ।

‘बिरुवाको माग बढ्दो छ, हामीले माग अनुसार बिरुवा दिन सकेका छैनौँ’,सूचना अधिकारी रोकाले भने, ‘यस वर्ष तीन लाख बिरुवा उत्पादन भएको छ, तर त्यो अपर्याप्त हो।’

केही वर्ष यता आएर बिरुवा रोप्नुपर्छ भन्ने सचेतना समुदायमा व्यापक रूपमा बढेका कारण बिरुवाको माग बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

ठुलो परिणाममा वृक्षारोपण गर्दा त्यसको संरक्षण र हुर्कने वातावरण पनि हुनुपर्ने भएकाले असार र साउनमा बिरुवा वितरण हुने गरेको डिभिजन वन कार्यालय नेपालगन्जले जनाएको छ। सो कार्यालयका अनुसार डिभिजन वन कार्यालय नेपालगन्ज, सबडिभिजन वन कार्यालय कोहलपुर, शमशेरगन्ज, मेहमानपुर, सिक्टा डिभिजनमा रहेको नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको छ।

डिभिजन वन कार्यालयले नरैनापुर र ढकेरीमा पनि नर्सरी स्थापनाका लागि टेन्डर मार्फत काम भइहरेको जनाएको छ । नर्सरीको निर्माण पूरा भएपछि बिरुवा उत्पादन बढ्ने जनाइएको छ।

यसैबिच वातावरण दिवसका अवसरमा बुधवार बाँकेमा विभिन्न कार्यक्रम गरिएको छ। डिभिजन वन कार्यालयको आयोजनामा कोहलपुर ८ मा रहेको शीतल छाया सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरेर वृक्षारोपण गरिएको छ।

सोही प्रकारले नेपालगन्ज साइकिलिंग क्लबले पनि एक कार्यक्रम गरेर वृक्षारोपण बारे सचेतना जगाउनुका साथै वातावरण संरक्षणमा जोड दिने गतिविधि गरेको छ ।

  • २३ जेष्ठ २०८१, बुधबार १६:३८ प्रकाशित
  • Nabintech