बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला सुरु
  • काँचुली खबर

२३ जेठ, बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । दुई दिनसम्म संचालन हुने मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका छन ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीको अवसर हुँदा हुँदै पनि युवा विदेशमा रोजगारीमा जाने गरेको बताउँदै अब नेपालमै रोजगारीको अवसर सिर्जना गर्न रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताए ।

उनले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेपालका विश्वविद्यालयले अब सिपमा आधारित शिक्षा दिनुपर्ने बताए । मास्टर डिग्री गरेका युवाहरु सीप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकोले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताए ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला बिहीबारसम्म सञ्चालन हुनेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा श्रमाधान रोजगार मेला भएको हो ।

रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ।मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिनेछ ।

श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले रोजगारी खोज्ने र रोजगारदातालाई जोड्ने गरी मेलाको आयोजना गरिएको बताए ।

मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र ७ सय जनाले मेलाबाट रोजगारी प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन् ।

मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिनेछ ।

  • २३ जेष्ठ २०८१, बुधबार १६:२४ प्रकाशित
  • Nabintech