विशिष्टिकृत सेवा थप्दै नेपालगन्ज मेडिकल कलेज
  • काँचुली खबर

२२ जेठ, कोहलपुर । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने भएको छ । अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्टिकृत सेवा विस्तार गर्न लागिएको हो ।

सोमबार कोहलपुरमा पत्रकार भेटघाट गर्दै अस्पताल प्रशासनले अस्पतालले प्रवाह गर्दै आएको सेवा सुविधालाई थप परिस्कृत गर्दै नयाँ सेवाहरु समेत संचालन गर्न लागिएको जनाएको हो । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सचिव श्याम शर्माले लुम्विनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका जनतालाई थप स्तरीय सेवा प्रदान गर्नका लागी विशिष्टिकृत सेवा थप्न लागेको बताए । अन्नपूर्ण अस्पतालसँगको सहकार्यमा न्यूरो सेवालाई स्तरीय बनाएको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरले आगामी साउन १ गतेदेखि क्याथ ल्याव सेवा दिने तयारी गरेको उल्लेख गर्दै शर्माले क्याथ ल्याव सेवा प्रवाह भएसँगै मुटुका बिरामीहरुले ठूलो राहात पाउने विश्वास ब्यक्त गरे ।

अस्पतालले प्रवाह गर्ने सबै उपचार सेवालाई विशिष्टिकृत गराउँदै लैजाने योजनाका साथ लागि परेको उल्लेख गर्दै कम्पनी सचिव शर्माले स्वास्थ्य सेवालाई प्रतिस्पर्धी बनाइने उल्लेख गरे । शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशम बहादुर रानाले अस्पतालबाट प्रवाह हुने सेवालाई क्रमश स्तरीय बनाउँदै लगिएको जानकारी दिए ।

यसैबिच लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नहुने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको छ । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो ।

हालसम्म चिकित्सक अध्ययन र अस्पतालका रूपमा सेवा प्रदान गर्दै आइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट अब अस्पतालको मात्र सेवा प्रदान गरिने शर्माले जानकारी दिए । “नेपालगन्ज अस्पतालबाट बिरामीहरूलाई प्रदान गरिने सेवा सुविधा विस्तार गर्दै अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य सेवा मात्र प्रदान गर्ने निर्णय गरेका छौँ ।” कम्पनी सचिव शर्माले भने ।

त्यसै गरी नेपालगन्जको भवानीयापुरमा रहेको अस्पतालको २० बिघा जग्गामा पनि भौतिक संरचना निर्माण गरी विभिन्न विषयमा पारा मेडिकल कोर्सहरू सञ्चालन गर्ने कार्यसमेत अगाडि बढाइएको शर्माले जानकारी दिए ।

कोलपुरमा रहेको शिक्षण अस्पतालमा मात्र चिकित्सक अध्ययन गराइने अस्पताल प्रशासनले जनाएको छ । “नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरबाट चिकित्सा शिक्षा अध्ययन र अस्पताल सञ्चालन गर्दै आएकोमा अब देखि शिक्षण अस्पताल कोहलपुरमा मात्र चिकित्सक अध्ययन गराइनुका साथै अस्पताल पनि सञ्चालन गरिनेछ ।” कम्पनी सचिव शर्माले भने ।

कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रुपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्दै स्वास्थ्य उपचारको नयाँ नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा प्रदान गरिनुका साथै विशिष्टीकृत सेवा सुरुआत गरेर स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

गत वर्षदेखि बन्द गरिएको स्वास्थ्य बिमा कार्यक्रम पनि आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गरिने र अस्पतालको मूल प्राथमिकतामा यस क्षेत्रका बिरामीहरूलाई सहज र किफायती स्वास्थ्य प्रदान गर्ने लक्ष्य लिइएको पनि पत्रकारमाझ जानकारी गराइएको थियो ।

मेडिकल कलेजबाट हाल सञ्चालन गर्दै आएको एमबिबिएस, एमडी-एमएस, बिएससी नर्सिङका साथै आउने आर्थिक वर्षदेखि बिडिएस, बिएमआइटी, बिएमएलटी तथा पिसिएल नर्सिङ कोर्ससमेत सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ क्याम्पस, मेडिकल कलेजलगायतका प्रतिष्ठानहरूमा एक सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ४० नर्स, एक सय बढी पारा मेडिकलसहित एक हजार चार सय कर्मचारी कार्यरत छन् ।

कोहलपुर अस्पतालमा ५ सय २५ र नेपालगन्ज अस्पतालमा ३ सय १५ शय्याको सेवा प्रदान गर्दै आएको मेडिकल कलेजले कोहलपुरबाट र नेपालगन्जबाट दैनिक चार÷चार सय बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर मेडिकल कलेजका कार्यकारी निर्देशक सन्तोषकुमार बिएन, कम्पनीका सचिव श्यामकुमार शर्मा, कम्पनीका उपनिर्देशक डा. सन्तोषकुमार शर्मा, वित्तीय नियन्त्रक दिल्लीप्रसाद भुसाल, नेपालगन्ज शिक्षण अस्पतालका उपनिर्देशक डा. रोमन किदवाई, शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेसमबहादुर राना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रिन्सिपल डा. अनुप शर्मा र नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. कुमार पोख्रेलको उपस्थिति थियो ।

  • २२ जेष्ठ २०८१, मंगलवार १६:३३ प्रकाशित
  • Nabintech