कोहलपुरको प्रचण्ड गर्मीमा फल्न थाल्यो स्याउ
  • काँचुली खबर

१६ जेठ, कोहलपुर । नेपालकै प्रचण्ड गर्मी हुने ठाँउ मध्यको एक हो नेपालगन्ज । नेपालगन्ज देखी १६ किलोमिटर उत्तरमा छ कोहलपुर । नेपालगन्जकै हाराहारीमा गर्मी हुने कोहलपुरमा पहिलो पटक स्याउ फलेको छ । तराईमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कोहलपुर नगरपालीका-१० सृजनाटोल निवासी एक प्रध्यापकले आफ्नो घरमा स्याउ फलाएका छन ।

कोहलपुर नगरपालीका वडा नं. १० निवासी खोपीराम ओलीले आफ्नो बगैचामा स्याउ फलाएका हुन । वागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक समेत रहेका ओलीले झण्डै २ वर्ष पहिले परिक्षणका रुपमा आफ्नो बगैचामा स्याउको बिरुवा लगाएका थिए । अनलाईनबाट बिरुवा मगाएर रोपेको २ वर्ष नपुग्दै बोटमा स्याउ फलेको ओलीले बताए ।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, “परिक्षणकालागी एउटा बोट लगाएको थिएँ, अहिले ३-४ वटा दाना फलेका छन ।” आफ्नै बगैचामा स्याउ फलेपछि निकै खुसी लागेको उनले प्रतिक्रिया दिएका छन ।

चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउ खेती हुँदै आए पनि पछिल्लो केही समय यता तराईको गर्मीमा समेत स्याउ फल्न थालेको छ । यसअघि कैलालीका एक कृषकले समेत ब्यवसायीक रुपमा स्याउ फलाएका थिए ।

कृषी विज्ञका अनुसार (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा समेत लगाउन सकिन्छ । तराईमा स्याउ फले पनि त्यो उपभोक्ताका लागि गुणस्तर हुन नसक्ने कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि वैज्ञानिकहरूले बताउँदै आएका छन ।

  • १६ जेष्ठ २०८१, बुधबार १८:५६ प्रकाशित
  • Nabintech