१५ जेठ, काठमाडौं । प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१-८२ का लागि संसद्को दुवै सदनमा केही बरेमा वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखेका छन् ।
अर्थमन्त्री पुन नयाँ बजेट अनुमोदन गराउन मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाने क्रममा बजेट वक्तव्य रहेको नेपाली झोला सार्वजनिक भएको हो ।
यसअघि दशकौंदेखि अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । तर, यसपालि गठनबन्धन सरकारका अर्थमन्त्री पुनले नेपाली झोला प्रयोग गरेका हुन् ।
अर्थ मन्त्रालयले उक्त झोला पर्यटन गन्तव्य ठमेलबाट खरिद गरेर ल्याएको हो । ‘स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पदान प्रयोग बढाउनुपर्छ भनेर ब्रिफकेसको सट्टा अल्लो र ढाकाको कपडा मिश्रित झोलामा बजेट वक्तव्य राखेका हौं,’ अर्थमन्त्री पुनले भने ।
१५ जेष्ठ २०८१, मंगलवार १५:१२ प्रकाशित