कृष्ण सेन ईच्छुकको स्मृतीमा रक्तदान कार्यक्रम सम्पन्न
  • काँचुली खबर

१३ जेठ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृष्ण सेन “इच्छुक” को स्मृती दिवसको अवसरमा आईतबार नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।

भेरी अस्पतालको हाताभित्र रहेको रक्त संचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा बिभिन्न क्षेत्रका २६ जनाले रक्तदान गरेको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यजले जानकारी दिएका छन ।

रक्तदानका कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिभिन्न वक्ताहरुले कृष्ण सेन ईच्छुकको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले ईच्छुकले नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा ठुलो त्याग र बलिदान गरी महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरेका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको प्रशंसा गर्दै सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालले नेपाली पत्रकारीता क्षेत्रमा कृष्ण सेन “इच्छुक” को योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

देशब्यापी रुपमा कृष्ण सेन “इच्छुक” को स्मृती दिवसका अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरीएका छन । जसअन्तर्गत बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।

तत्कालीन शाही सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी पत्रकार सेनको ७ दिनपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरेको थियो । सोही दिनको स्मृतीमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ईच्छुकको स्मृती दिवस मनाउँदै आईएको छ ।

  • १३ जेष्ठ २०८१, आईतवार १५:०२ प्रकाशित
  • Nabintech