नेपालगन्जमा आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला
  • काँचुली खबर

१२ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्जमा आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ बाँके शाखाको सहकार्यमा आयोजित आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठिमा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिईएको छ ।

कार्यक्रममा भेरी अस्पताल नेपालगन्जमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लिला देवकोटाले गम्भीर मनोरोग तथा मनमा उत्पन्न समस्यालाई व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्याको बाटो रोज्ने गरेको भन्दै यो दर घटाउन मानसिक रोगबारे जनचेतना फैलाई मानसिक स्वास्थ्य राम्रो बनाउन जरुरी रहेको बताईन ।

केही आत्महत्या आवेग या पीडाको चरणमा हुने भएपनि, धेरैजसो आत्महत्याको बाटो रोज्ने मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको उनको भनाई थियो । धेरैलाई उपचारमार्फत् आत्महत्या गर्नबाट रोक्न सकिने भन्दै डा. देवकोटाले समयमै पहिचान गर्न सके आत्महत्याको दरलाई न्यूनीकरण गर्न सकिने बताईन ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले मानसिक स्वास्थ्य सम्बन्धी सेवा विस्तार गरि रोगिहरुको समयमै पहिचान गर्न सके आत्महत्याका घटानाहरुमा कमी आउने बताए । उनले समयमै पहिचान गर्नसके उपचार र परामर्श प्रदान गर्न सकिने र त्यसले आत्महत्याको बाटोमा पुग्न नदिने कुरामा जोड दिए ।

भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश चौधरीले आत्महत्या न्यूनीकरणमा चिकित्सकको जत्तिकै सञ्चारकर्मीहरुको समेत भूमिका रहने भएकाले सकारात्मक सन्देशहरु र आत्महत्या निरुत्साहीत गर्ने सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गरे ।

मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका भक्त बहादुर केसीले मानसिक रोग जनस्वास्थ्य समस्याका रुपमा देखा परेको र यही समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताए । उनले आत्महत्या र आत्महत्या रोकथामका बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउन जरुरी रहेको धारणा रोका थिए ।

उनले सञ्चारकर्मीहरुले सहयोग पाउन सकिने ठाउँबारे सही सूचना दिन सकेपनि यसको न्यूनीकरण गर्न सकिने औल्याएका थिए । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै उनले आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिब ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताए । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ । यस्तै उनले आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा संवेदनशील र उत्तरदायी हुन कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुलाई अनुरोध गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवत्ता डिएसपी नारायण डाँगीले बाँकेमा आत्महत्याका घटानाको तथ्यांक प्रस्तुत गरेका थिए ।

  • १२ जेष्ठ २०८१, शनिबार १७:२० प्रकाशित
  • Nabintech