आईसीसी टी-२० विश्वकप : पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने
  • काँचुली खबर

१० जेठ, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप अबको केही दिनमा शुरू हुँदैछ । प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । टी-२० विश्वकप पहिलोपटक अमेरिकामा पनि हुँदैछ । टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेका छन् ।

यसपटक पनि टी-२० विश्वकप पुरानै फर्म्याटमा खेलाइँदै छ । समूह चरण, सुपर-८ र त्यसपछि नकआउट (सेमिफाइनल र फाइनल) गरी तीन चरणका खेल हुनेछन् । यसका लागि सबै २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

एक समूहमा पाँच टोली छन् । समूह चरणमा एक समूहका टोलीले एकअर्कासँग खेल्नेछन् । प्रत्येक समूहबाट २ टोली सुपर-८ मा छनोट हुनेछन् । यीमध्ये चार टोली नकआउट राउण्डका लागि सेमिफाइनल पुग्नेछन् ।

समूह एमा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह बीमा अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड छन् । समूह सीमा अफगानिस्तान, न्यूजिल्याण्ड, पापुआन्यूगिनी, युगान्डा, वेस्टइन्डिज छन् । समूह डीमा बंग्लादेश, नेपाल, नेदरल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् ।

प्रतियोगिताको समूह चरणका खेलहरू जुन १ बाट शुरू भई जुन १८ सम्म खेलाइनेछ । सुपर ८ का खेल १९ देखि २५ जुनसम्म हुनेछन् । सेमिफाइनल खेल जुन २७ गते र फाइनल खेल २९ गते हुनेछ ।

केही खेल बिहान र केही बेलुका खेलाइनेछन् । प्रतियोगितामा दुई देशका ९ रंगशालामा कूल ५५ खेल हुनेछन् ।

जुन १ बाट शुरू हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा विश्वकपको पहिलो खेल खेल्नेछ । त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ ।

वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ । नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ । टी-२० विश्वकपका खेलहरू वेस्ट इन्डिजका विभिन्न ६ र अमेरिकाका ३ रंगशालामा खेलाइने छन् ।

एउटा सेमिफाइनल ट्रिनिडाडको ब्रायन लारा स्टेडियममा हुनेछ भने अर्को सेमिफाइनल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ । प्रतियोगिताको फाइनल खेल ऐतिहासिक रंगशाला बार्बाडोसको केन्सिङ्टन ओभलमा हुनेछ ।

पहिलोपटक ‘स्टप क्लक’ प्रयोग

प्रतियोगितामा पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने छ । यसको मतलब बलिङ टोलीले एक ओभर सकिएको ६० सेकेण्डभित्र दोस्रो ओभर शुरू गरिसक्नुपर्ने छ ।

आईसीसीले बनाएको नियमअनुसार असाधारण अवस्थामाबाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सको लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६ ओभरमा पावर प्ले हुनेछ । प्रत्येक टोलीले दुई समीक्षा अर्थात रिभ्युको मदका पाउनेछन्।

खेल बराबरी भएमा सुपर ओभरबाट नतिजा तय हुनेछ । सुपर ओभर पनि टाई भएमा नतिजा तय गर्न सुपर ओभर फेरि खेलिनेछ ।

प्रतियोगितामा पनि वर्षा भएमा नतिजा प्राप्त गर्न डीएलएस विधि प्रयोग गरिनेछ । तर डीएलएस लागू गर्न केही सर्तहरू छन् । समूह चरण र सुपर-८ का लागि दुवै टोलीले कम्तिमा ५ ओभरको खेल खेलेपछि मात्रै डीएलएसमार्फत् निर्णय लिन सकिनेछ भने नकआउट खेलमा दुवै टोलीले कम्तीमा १० ओभरको खेल खेले मात्रै यसको प्रयोग गरिने छ ।

पहिलो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छ । तर, दोस्रो सेमिफाइनलका लागि २५० मिनेट मात्र अतिरिक्त समय दिइएको छ ।

टी-२० विश्वकपको उपाधि अहिलेसम्म ६ टोलीले जितेका छन् । पहिलो टी-२० विश्वकपमा भारतले ऐतिहासिक जित दर्ता गरेको थियो । त्यतिबेला भारतले पाकिस्तानलाई फाइनलमा हराएको थियो । पाकिस्तान टोली तीनपटक फाइनलमा पुगेर सन् २००९ मा प्रतियोगिता जितेको थियो ।

गत विश्वकपमा इंग्ल्याण्डले उपाधि जितेको थियो । यसअघि सन् २०१० मा पनि इंग्ल्याण्डले उपाधि जितेको थियो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा पनि दुई पटक विश्वकप जितेको छ । सन् २०२१ मा अष्ट्रेलियाको टोलीले विश्वकप जितेको थियो ।

कोरोना भाइरसको महामारीको समयमा ग्यापबाहेक टी-२० विश्वकप नियमित रूपमा खेलिएको छ । आईसीसीले प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरेको छ ।

अर्को टी-२० विश्वकप २०२६ मा आयोजना हुनेछ, जुन भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन् । सन् २०२८ मा हुने टी-२० विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने छन् ।

  • १० जेष्ठ २०८१, बिहीबार १३:४९ प्रकाशित
  • Nabintech