कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
  • काँचुली खबर

३१ बैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाको १ सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाका ५ जनाले भने तटस्थमा मत हालेका छन् ।

त्यसआधारमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्ताव पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । राप्रपाले भने विश्वासको मतको प्रस्तावमा तटस्थ बसेको छ ।

गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा कार्की नियुक्त भएका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति जेठ ९ गतेलाई तोकिएको छ । नेपाली कांग्रेस भने अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको भन्दै प्रदेशसभामा अनुपस्थिति भएको छ । मुख्यमन्त्री कार्की यसअघि २०७९ पुस २४ गते र २०८० भदौ १७ गते पनि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको सभामुखसहित ६, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ जना सांसद छन् ।

  • ३१ बैशाख २०८१, सोमबार १५:४५ प्रकाशित
  • Nabintech