यो वर्ष तापक्रम बढ्ने, सरदरभन्दा ५५ प्रतिशत बढी वर्षा हुने
  • काँचुली खबर

३१ वैशाख, काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्ष हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभागले अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेकोसमेत जनाएको छ ।

त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण भएकाले चरम मौसमी घटना हुनसक्ने सम्भावना रहेको छ ।

सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

  • ३१ बैशाख २०८१, सोमबार १४:३३ प्रकाशित
  • Nabintech